प्रधानमन्त्री बन्न प्रचण्डको साथमा राष्ट्रपति भेट्दै अोली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको स्रोतले बताएको छ ।

यही अाधारमा राष्ट्रपतिले गठबन्धनका नेता अोलीलार्इ नियुक्त गर्ने बताइएको छ । एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।

Loading...