सातै प्रदेशले पाए मुख्यमन्त्रीः चार प्रदेशमा सरकार बन्यो, तीनमा बाँकी

काठमाडौं । बिहीबार सम्म देशका सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बिहीबार प्रदेश ६ र ७ मा मुख्यमन्त्रीहरु नियुक्त भएका छन् ।

बिहीबार नै प्रदेश १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ ।

विहीबार प्रदेश ६ बिहीबार नै माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै प्रदेश ७ मा माओवादी केन्द्रकै नेता त्रिलोचन भट्ट मुख्यमन्त्री नियुक्त भए ।

प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ शंकर पोखरेल मुख्यमन्त्री भएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री संघीय समाजवादी फोरमका हुन् भने अरु ३ वटा प्रदेशका मुख्यमन्त्री एमालेबाट निर्वाचित भएका हुन् ।

प्रदेश १ मा पाँच सदस्यीय क्याबिनेट
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेका ३ र माओवादीका १ जना मन्त्री बनेका छन् । एमालेबाट हिक्मत कार्की गृह (आन्तरिक मामिला तथा कानुन), जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शेरधन राई र चारै जना मन्त्रीलाई बिहीबार प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

प्रदेश २ मा तीन सदस्यीय सरकार
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल राजपाबाट एक/एक जना मन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विहीबार फोरमका विजय यादवलाई आर्थिक मामिला तथा योजना मन्त्री र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश ३ मा तीन सदस्यीय सरकार
प्रदेश ३ मा यसअघि नै डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् । त्यहाँको ३ सदस्यीय मन्त्रिमण्डलमा एमालेका केशव स्थापित भौतिक पूर्वाधार मन्त्री छन् भने माओवादीका शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।

प्रदेश ५ मा तीन सदस्यीय सरकार
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमाले र माओवादी केन्द्रबाट एक/एक जना मन्त्री समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरु केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश ४, ६ र ७ मा मुख्यमन्त्री नियुक्त भए पनि सरकार गठन भने भइसकेको छैन् ।

Loading...