प्रदेश ६ मा मन्त्रिपरिषद् विस्तारः यी हुन पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

सुर्खेत । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री शाहीले मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि आज सरकार विस्तार गरेका हुन् ।

मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र)का तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसीलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह बुढालाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावललाई सामाजिक विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गरेका छन् ।

यसैबीच प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ । नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय पारित गरेको छ ।

जसमा प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ र प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बैठकले पारित गरेको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले कर्णालीका डोल्पा र हुम्ला जिल्लामा सडक पु¥याउने पहिलो प्राथमिकता बनाएको छ । त्यस्तै बैठकले उत्तरका तीन नाका खोल्न पहल गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक गाउँपालिकामा एक घरेलु उद्योगको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम सञ्चालन गर्ने, हरित प्रदेश निर्माण गर्ने, कृषिमा अर्गानिक प्रदेश निर्माण गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने रहेका छन् ।

त्यस्तै एक समूह एक सहकारी निर्माण, डिजिटल प्रदेश निर्माणलगायतका निर्णय पारित गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री केसीले जानकारी दिइन् ।

यसैबीच अाजै प्रदेशका छ जना मन्त्रीले आज आफ्नो पदबहाली गरेका छन् ।

आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई शपथ खुवाएपछि मन्त्रीहरुले आइतबार अपराह्न ४ बजे आ–आफ्नो मन्त्रालयमा पुगेर पद बहाली गरेका हुन् ।

Loading...