अोली सरकार विरूद्ध विप्लव नेतृत्वको नेकपाको अान्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका कार्यकर्ता पक्राउ गरेको विरोधमा अान्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

मंगलबार आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा पार्टी नेताहरू सुदर्शन, पदम राई लगायतका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विप्लवले तत्काल उनीहरुको रिहाईको माग समेत गरेका छन् ।

बन्दका क्रममा सरकारले गरेको धरपक्कडका बिरुद्ध सो पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रमहरुमा फागुन ९ गते कोण सभा, १० गते अन्तरक्रिया, ११ गते केपी ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन र १३ गते देशव्यापी कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

Loading...