अवैध उत्खनन गर्ने २४ ट्र्याक्टर २ ट्रक १ स्कार्इभेटर नियन्त्रणमा

चितवन । पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेण्डर हुने गरेको छ ।

यसअघि पनि पटक-पटक अवैधरुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

चितवनका खोलामा पछिल्लो समय अवैधरुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको जनगुनासा आइरहेको छ । प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।

सो क्षेत्रबाट लाखौँ टिप अवैधरुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताउनुभयो । सो क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ ।

यसैबीच चितवन प्रहरीले ईच्छाकामना गाउपालिका अन्तर्गत मुग्लिङ स्थित त्रिशुली खोलाबाट २ वटा ट्रक र १ वटा स्काईभेटर समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति चितवनमा पठाएको छ ।

Loading...