भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो ।

मृत्युको बेला उनका पति बोनी कपूर र छोरी खुशी पनि साथै रहेको बताइएको छ। उनकी ठूली छोरी जाह्नवी भने सुटिङमा व्यस्त भएका कारण दुबई गएकी थिइनन्।

आफ्नो परिवारसँग दुबईमा एउटा बिहे समारोहमा सहभागी हुन गइरहेकी श्रीदेवीलाई त्यहीँ शनिबार राति करिब ११ बजे हर्ट अट्याक भएको थियो।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।

८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।

सन् २०१७ मा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।

Loading...