सडक पेटीका व्यापारीलाई साताभित्र हटाउने महानगरको घोषणा

चितवन । भरतपुर महानगरपालिकाले सडकमा जथाभावी ठेलामा गरिने व्यापारलाई एक हप्ताभित्र हटाउने भएको छ । साँघुरो नारायणगढ क्षेत्रमा ठेलाको ब्यापारीको जगजगी छ । जथाभावी ठेला राखेर व्यापार गर्दा सडक यात्रु हिड्न र सवारी पार्किङ गर्न समस्या भएको छ ।

पूर्वपश्चिम राजमार्गमा नै नारायणगढ बजार पर्दछ । ठूला–ठूला महल बजार क्षेत्रमा उभ्याएर मासिक लाखौं भाडा उठाउनेहरुले समेत पार्किङ सडकलाई नै बनाएका छन् । बजार क्षेत्र अव्यवस्थित र अस्तव्यस्त देखिन्छ । यसलाई सुधार गर्ने महानगरको प्रयास कागजभन्दा बाहिर देखिएको छैन ।

तर, फेरिपनि भरतपुर महानगरपालिकाले एक साताभित्र बजार क्षेत्रमा बसेर गरिदैं आएको ठेलाको व्यापार हटाउने दावी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक हप्ताभित्र सडकबाट ठेला हटाउने प्रतिवद्धता जनाएका छन् ।

सार्वजनिक ठाँउमा व्यापार व्यवसाय गर्न पाइदैन, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, यसलाई हटाउनै पर्दछ व्यवस्थित गर्न सकिदैन, ठाउँ नै छैन अब । कसैलाई पनि दयामा माया देखाएर सडकमा ठेला राखी व्यापार गर्न दिन नसकिने भन्दैं प्रमुख प्रशासकीय अधिकृत जोशीले प्रश्न गरे, ‘मलाई पनि सार्वजनिक जग्गाका बसेर ब्यापार गर्ने रहर छ पाउँछु मैंले?’

भरतपुर महानगरमा केही नगर प्रहरी छन् । ती प्रहरीको काम यस्तैं व्यापारीलाई खोज्दै हिड्ने हो । विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा बसेर ब्यापार गर्नेहरुलाई खोज्दै हिड्ने, पक्राउ गर्ने, सामान जफत गर्ने काम हुन्छ । तर, जब साँझ पर्न थाल्छ त्यसपछि महानगरको पैसा उठाउने कम्पनी तिनै ठेला पसलेहरुकोमा बिल लिएर जान्छ । सडकमा व्यापार गरेवापत हरेक ठेलावालाले दैनिक ५० रुपैयाँ वेष्ट म्यानेजमेन्ट प्रा.लि ग्रूपलाई बुझाउँदै आएका छन् ।

यो समूहले उठेको सवै रकम महानगरपालिकाको खातामा जम्मा गरिदिन्छ र महानगरले ३० प्रतिशत रकम कट्टा गरी बाँकी रकम यहि समूहलाई नै फिर्ता दिन्छ । दिउँसोमा ठेला समस्या देख्ने महानगर साँझ परेपछि पैसा उठाउन पठाउने गरेको एक ठेलावालाले गुनासो पोखे । दिउँसोमा नगर प्रहरी हेर्न एक जना र ब्यापार गर्न अर्को एक जना बस्नुपर्ने वाध्यता भएको ठेलावालाको भनाइ छ ।

महानगरसँग बजार क्षेत्रमा कति ठेला छन् भन्ने एकीन तथ्याङ्क छैन । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ठेलावालाले ब्यापार गर्नेसँग फोहरको सरसफाई शुल्क मात्रैं कम्पनी मार्फत लिएको दावी गर्दछन् । महानगरपालिका स्वंयले दोहोरो मापदण्ड अपनाउँदा ठेलाको ब्यापार बजार क्षेत्रमा फैलिएको छ ।

Loading...