पार्किङ व्यवस्थापनको लागि नयाँ योजनाः जथाभावी पार्किङ गरे नियन्त्रण

चितवन । जथाभावी पार्किङले अस्तव्यस्त बन्दै गईरहेको चितवनको बजारलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले विशेष योजना ल्याएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनले अव्यवस्थित पार्किङ नियन्त्रणका लागि प्रविधिसहितको नयाँ योजना ल्याएको हो ।

जथाभावी पार्किङ गर्ने दुई पाङग्रे र चार पाङग्रे सवारीलाई ट्राफिक प्रहरीले सहज रुपमा नियन्त्रणमा लिन सक्ने भएको छ । पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीलाई ट्राफिक प्रहरीले ह्वील लकरको सहायताले नियन्त्रणमा लिन सुरु गरेको छ । यो चितवनमा ल्याईएको नयाँ प्रविधि हो ।

यद्यपी यो प्रविधि राजधानीमा प्रयोग भईसकेको छ । ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले यो प्रविधिले सवारी धनी सहजै उम्कन नसक्ने भएकाले नियन्त्रण अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । गत माघ १ गतेदेखि टिबिटि स्टिकर टाँसेर अव्यवस्थित पार्किङ नियन्त्रणको काम सुरू गरिए पनि सो योजना प्रभावकारी नहुँदा विकल्पको रुपमा ह्वील लकर ल्याईएको उहाँले बताउनुभयो ।

स्टिकर टाँसिएका ३० प्रतिशत सवारी धनी कार्यालयको सम्पर्कमा नआएकाले यातायात कार्यालयबाट जानकारी लिई कारबाही गरिने उहाँको दाबी छ । नारायणगढ क्षेत्रमा जथाभावी पार्किङ गरिएको सवारीमा ‘ह्विल लक गरिने र सवारी धनीलाई कार्यालयमा उपस्थित गराई १५ सय रुपैयाँ जरिवाना तिराइने पन्तले बताउनुभयो ।

Loading...