विरामीको मृत्यु भएपछि महाकाली अस्पतालमा तनाब

कञ्चनपुर । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि शनिबार महाकाली अञ्चल अस्पताल तनावग्रस्त भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरे ।

अस्पताल परिसरमा भेला भएका आफन्तले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

पेट दुखेपछि भीमदत्त नगरपालिका ११ भुजेलाकी ४० वर्षीया कलावती सार्कीलाई उनका आफन्तले शुक्रबार राति ११ बजे अस्पताल भर्ना गरेका थिए । उपचारकै क्रममा उनको बिहान ५ बजे मृत्युभयो । आफन्तले समयमा डाक्टर नआएका कारण उपचार हुन नसकेको भन्दै विरोध गरे । उनीहरूले डाक्टरकै लापरबाहीले मृत्यु भएको दाबीगरेका छन् ।

‘११ बाजेतिर अस्पताल पुर्‍याए पनि समयमा डाक्टर आइदिएनन्,’ मृतकका पति फागुले भने, ‘अस्पताल पुर्‍याउनेबित्तिकै त्यहाँ रहेका एक स्वास्थ्यकर्मीले सुई लगाएर औषधि दिए, ३ बजेदेखि दुखाई अत्यधिक भएपछि डाक्टर बोलायौं । तर आइदिएनन् ।’ उनका अनुसार बिहान ३ बजेसम्म कलावती राम्रोसँग बोलिरहेकी थिइन् । एक्कासि श्वासप्रश्वास बढेर पसिना आएको र त्यसपछि उनको मृत्यु भएको पति फागुले बताए ।

उनका अनुसार कलावतीको फागुन १३ मा अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको चौथो दिन डिस्चार्ज गरी घर पठाइएको थियो । घर गएकै दिनदेखि अलि–अलि पेट दुख्ने समस्या सुरु भएको उनले बताए । शुक्रबार साँझदेखि बढी नै दुख्न थालेपछि राति अस्पताल ल्याइएको थियो । मृतकका आफन्तले शल्यक्रिया गर्ने बेला नै समस्या भएको हुन सक्ने बताएका छन् । त्यही भएर अस्पतालले चाँडै डिस्चार्ज गरेको हुन सक्ने उनीहरूको आरोप छ ।

शल्यक्रिया गर्ने डाक्टरले शुक्रबार राति पनि समयमै नहेर्दा समस्या भएको उनीहरूको भनाइ छ । पाठेघरको शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले पाठेघरको शल्यक्रिया पूर्णरूपले ठीक भएपछि मात्रै डिस्चार्ज गरिएको बताए ।

अस्पतालको इमर्जेन्सीमा ड्युटी गरिरहेका डा. सुदीप खरेलले अथक् प्रयास गर्दा पनि जोगाउन नसकेको बताए । ‘४ बजेर ३८ मिनेटमा फोन आएपछि इमर्जेन्सीमा पुग्दा छाती र पेट दुख्ने तथा श्वासप्रश्वासको समस्या देखिन्थ्यो,’ उनले भने, ‘२०/२५ मिनेटपछि अत्यधिक पसिना आउनुका साथै छातीको दुखाइ पनिबढ्दै गयो, हामीले बचाउन सकेनौं ।’ उनले ५ बजेर २५ मिनेटमा मृत घोषणा गरिएको बताए ।

मृतकका आफन्तले अस्पतालमायस्ता घटना दोहोरिइरहेकाले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शवबुझ्न मानेका छैनन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । गत असोजमा पनि सुत्केरीका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । कान्तिपुरबाट।

Loading...