३३ किलो सुनले लियो सनको ज्यान

काठमाडौं । गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर-३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटाएको थियो ।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा समन सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य सोमबार अपहरणमा परेका थिए ।

शाक्यले केही साता अघि तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएको प्रहरी स्रोतको दाबी छ । पछि सोही सुन हराएपछि उनी तस्करको निसानामा परेका थिए ।

सुन मालिकले भरियाको सुराकी गर्न र जानकारी फुत्काउन काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई खटाए । यद्यपि, उनीहरुले उपलब्धीमूलक सूचना ल्याउन सकेनन् ।

अन्ततः १५ फागुनमा सनम उनीहरुको अपहरणमा परे । उनलाई सिराहाको दक्षिण भेगको एक गोप्य स्थानमा लगे र यातना दिन थाले । तीन दिनसम्म निर्घात कुटपिट गरे तर सुनबारे केही बताएनन् ।

चौथो दिन उनलाई तर्साउन करेन्ट समेत लगाइयो । तर, अपशोच ! करेन्टका कारण सनमको ज्यान गुम्यो।

शुक्रबार अपरान्ह नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालाई व्यक्तिको अपहरणपछि हत्या भएको सुराकी मिल्यो । हत्या गर्नेहरु भाग्न लागेको सूचना थियो ।

लगत्तै, महाशाखाका डिएसपी प्रजित केसी नेतृत्वको प्रहरी टोलीलाई परिचालन भएको थियो । सनमको हत्यापछि शवलाई लुकाउन पूर्वतर्फ लैजाँदै गरेको प्रहरीले पत्तो लगायो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीका अनुसार राति करिब १२ बजेतिर अप्रेशन टोली इटहरी पुग्यो ।

त्यहाँ पुगेपछि बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीलाई शंकास्पद रुपमा केसी नेतृत्वको टोलीले नोटिश गर्यो । र, पछ्याउन थाल्यो ।

‘हामीले पछ्याउँदै गरेको उसलाई शंका लागेको हुन सक्छ’, अप्रेशनमा संलग्न टोलीका एक सदस्यले भने, ‘कहिले गाडी डेड लेनतिर हुइँकिरहेको थियो । कहिले नहरतिर लगिरहेको थियो । गाडी कुदाई एकदमै अनयूजल थियो ।’

ती अधिकारीका अुनसार गाडी चालक काभ्रेका ३२ वर्षीय टेकराज मल्ल (पक्राउ गरेपछि नाम, थर खुलेका) ले गाडीलाई कहिले इटहरीतर्फ कहिले धरानतर्फ गरेर घुमाइरहेका थिए ।

त्यसैवेला प्रहरीले घटनामा संलग्न थप दुई जनाको बारेमा सुराकी पायो । र, शनिबार दिउँसो बिराटनगरको पोखरियाको दुर्गा चोक नजिक पुगेपछि स्कोर्पियोलाई छेक्यो ।

गाडीको खनतलासी गर्दा डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेर लुकाएको अवस्थामा सनमको शव फेला प¥यो ।

गाडीका चालक टेकराजलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । लगत्तै, प्रहरीले इटहरीमा रहेका उर्लाबारीका करेन्द्र र मोहन पनि पक्राउ परे ।

अहिले प्रहरीले थप अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानले घटनामा थप ४/५ जना व्यक्ति संलग्न भएको देखाएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

उनीहरु फरार छन् । तिनै साढे ३२ केजी सुनका मालिक समेत हुन् ।

Loading...