दुर्इ-तिहार्इको सरकारः फोरम सरकारमा जाँदै, राजपा पनि सकरात्मक

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ।

फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो।

संसद्मा कुल २७५ सांसदमध्ये एमाले–माओवादी केन्द्रको १७४ अर्थात् ६३ दशमलव २३ प्रतिशत सांसद छन्। संघीय समाजवादी फोरमले पनि सरकारमा जाने निर्णय गरेपछि अब ओली नेतृत्वको सरकारसँग १९० सांसद पुग्नेछन्। जुन कुल सांसदको ६९ दशमलव ०९ प्रतिशत हुन आउँछ।

संसद्मा दुईतिहाइ बहुमत पुर्‍याउन १८३ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओलीले संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसबाहेक अन्य ४ दललाई सरकारमा सहभागी गराई आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन खोजेका छन् ।

संसद्मा एमाले, माओवादी, कांग्रेस, फोरम र राजपा गरी ५ वटा दलले प्रतिनिधित्व गर्नेछन्। ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भइसकेको भने फोरम पनि सहभागी हुने निर्णय गरिसकेको छ। अर्काे दल राजपा पनि सरकारमा जान सकारात्मक देखिएको छ।

राजपा पनि सरकारमा सहभागी भए संसद्मा कांग्रेस मात्रै प्रतिपक्षमा हुनेछ। फोरमको सरकारमा सहभागी हुने निर्णयपछि ओली नेतृत्वको सरकार बीपी कोइराला नेतृत्वको सरकारपछिकै दुईतिहाइको सरकार बन्नेछ।

राजपा पनि सकारात्मक
प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई गरेको प्रस्तावमा राजपा पनि सकारात्मक देखिएको छ। राजपाले यस विषयमा निर्णय लिने अधिकार अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।

‘हामीले सरकारमा सहभागिताको विषयमा निर्णय लिन र सरकारसँग कुराकानी गर्ने सम्पूर्ण अधिकार महन्थजीलाई दिएका छौं,’ राजपा नेता केशव झाले भने, ‘फोरमसँग संविधान संशोधनमा सरकार लचिलो बन्न खोजेको संकेत पाएका छौं, यो राम्रो हो। सरकार संविधान संशोधनमा सकारात्मक हुनु हाम्रा लागि पनि राम्रै हो।’

ठाकुरले निर्णय क्षमता आफूमा केन्द्रित गरेपछि प्रधानमन्त्री ओलीसँग औपचारिक छलफल गर्न पाएका छैनन्। ओलीसँगको छलफलपछि मात्र राजपाले यस विषयमा थप निर्णय लिने नेता झा बताउँछन्। अन्नपूर्ण पोस्ट दैनिकबाट ।

Loading...