विश्वासको मत लिँदै प्रधानमन्त्री दुर्इ तिहाइ माथि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज संसदमा विस्वासको मत लिने छन् । उनलार्इ दुई तिहाइ बढी सांसदको समर्थन जुटेको छ । गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेकका सबै दलले समर्थन दिने जनाएका छन् ।

साना दलका स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गर्ने सांसदहरूले समेत ओलीलाई विश्वासको मत दिने भएका छन् ।
प्रधानमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज (आइतबार) दिउँसो ३ बजे बस्ने संसद् बैठकमा विश्वासको मत लिने कार्यतालिका छ ।

प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ मध्ये बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ भने दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । प्रधानमन्त्रीलाई सामान्य बहुमत आवश्यक पर्ने भए पनि वाम गठबन्धनसँग १७४ (नेकपा एमालेसँग १२१ र माओवादी केन्द्रसँग ५३) सांसद रहेकाले दुई दलबाट नै उनलाई आवश्यक बहुमत पुग्नेछ । अन्य राष्ट्रिय दलका सांसद तथा स्वतन्त्र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएकाले उनलाई दुई तिहाइ बढी सांसदको विश्वास मत जुट्ने भएको हो ।

प्रतिनिधिसभामा १७ सिट संख्या रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । सरकारमा सहभागिता जनाउने अन्तिम तयारीमा रहेको संघीय समाजवादी फोरमले पनि सरकारलाई समर्थन गर्ने तयारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वतन्त्र हैसियतमा सांसद रहेका राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । उनी झापा ३ बाट बाम गठबन्धनको समर्थनमा सांसदमा विजयी भएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट निर्वाचन लडेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको पनि सरकारलाई समर्थन हुने भएको छ ।

प्रतिनिधिसभामा एमालेका १२१, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, राजपाका १७ र संघीय फोरमका १६ सांसद रहेका छन् । बाँकी ५ सांसद विभिन्न दलबाट स्वतन्त्र हैसियतमा रहेका छन् ।

Loading...