प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत, संसद बैठकमा कसले के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ प्रतिनिधिसभाको कुल सदस्यको २०८ मत प्राप्त भएको छ । प्रधानमन्त्रीको विपक्षमा ६० मत परेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी भएनन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर रहेका कारण उपस्थित भएनन् ।

प्रस्ताबको पक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले मत दिए ।

मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरेका थिए। सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा विपक्षमा रहेका सांसदले हस्ताक्षर गरेका थिए ।

यसअघि विस्वासको मत माग्दै संसदको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पारेका थिए ।

राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई सबैको साझा यात्रा भएको बताएका थिए । ‘यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो’, प्रधानमन्त्री अोलीले भने ।

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गरेका थिए ।

‘म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन,’ उनले भने ।

प्रस्तावको पक्षमा बोल्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताए ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको उनको भनाइ थियो ।

जनताका आधारभूत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

भाषण होइन काम गर्न प्रधानमन्त्रीलार्इ प्रचण्डको सुझाव
यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे ।

इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरे ।

‘नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु,’ उनले भने ।

प्रतिपक्षबिनाको सदन हुँदैन, काँग्रेस प्रतिपक्षमा बस्छः उपनेता गच्छदार
यता नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताए ।

सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उनले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।

Loading...