राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र, अाज सपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनुभएकामा राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

हिजोको निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी थिइन्।

उनकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेकी थिइन्।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ ।

Loading...