उपभोक्ता अधिकार जनतालाई सचेत बनाउँ

चितवन । उपभोक्ता हक अधिकारका बिषयमा स्थानिय निकायको समन्वयमा जागरुकता फैलाउनुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ । उपभोक्ता अधिकार दिवस २०७४को अवसरमा भरतपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले स्थानिय निकायले जागरण अनुगमन, निगरानी र कारवाहीको प्रकृया संगै अघि बढाउन आवश्यक रहेको बताएका छन ।

राजनैतिक परिबर्तन पश्चात उपभोक्ता हक,अधिकार र संरक्षणका कुरामा केही कानुनी व्यवस्था भएपनि कार्यान्वयन तह फितलो भएको कारण हक,अधिकारका कुराहरु ओझेलमा परेको उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष शैलेन्द्र कुमार पियाले बताउनुभयो ।

स्थानियनिकायको सरकारले हरेक क्षेत्रमा रहेकोले उपभोक्ताको हक अधिकार संरक्षणमा न्यायीक रुपमा कार्य गर्ने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण प्रसाद डल्लाकोटीले बताउनुभयो । उहाले नियमित बजार अनुगमन, उपभोग्य बस्तुको गुणस्तर हेर्ने र सबै निकाय र बिभागलाई क्रियाशिल बनाई उपभोक्ताको हक,अधिकार संरक्षणका लागि लागि पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले चितवनमा बिभिन्न किसिमका कार्ययोजना बनाएर उपभोक्ताहक अधिकार संरक्षण गर्न कार्य गरिरहेको बताउनुभयो । गुणस्तरिय सामान सुपथ मुल्यमा सहज तरिकाले उपभोक्ताले पाउनुपर्ने र त्यसका लागि अनुगमन र कारबाहीको कार्यहरु गरेको उहाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ ईन्जिनियर नेपाल टेलिकम गेहेन्द्र सुबेदी, कृषि बिकास कार्यालय चितवनका मस्त्य बिकास अधिकृत परशुराम यादब, पशु सेवा कार्यालयका पशु चिकित्सक चेतनारायण खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण निलु केसीले गर्नुभएको थियो भने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष शैलेन्द्र कुमार पिया र उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको संयुक्त अध्यक्षतामा भएको हो ।

Loading...