माछाको भूरामा आत्मनिर्भर बन्दै चितवन

चितवन । माछाको भुरामा चितवन जिल्ला आत्मनिर्भर बनेको छ । केही वर्षअघि मात्र परनिर्भरताको अवस्थामा रहेको चितवन एक वर्षदेखि आत्मनिर्भरतामा रहेको हो । जिल्लामा अहिले एक सरकारीसहित आठवटा माछाको भुरा उत्पादन गर्ने ह्याचरी केन्द्र रहेको छ ।

भण्डारा मत्स्य विकास केन्द्रमा सरकारी तहबाट एउटा ह्याचरी र जिल्लाका विभिन्न स्थानमा सातवटा गरी आठवटा ह्याचरी रहेको जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवले जानकारी दिनुभयो ।‘हामी केही वर्ष अघिसम्म परनिर्भरतामा थियो अहिले आत्मनिर्भर भएका छौ’ उहाँले भन्नुभयो ‘जिल्लामा उत्पादन भएको भुराले यहाको माग धान्न सकिने अवस्था छ’ तर जिल्ला बाहिरबाट पनि भुरा आउने र यहाँको भुरा बाहिरी जिल्लामा जाने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले माछा पालन गर्ने किसानको संख्या वृद्धि हुदै गएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यहा वार्षिक दुई करोड ५० लाख भुराको माग रहेको छ । यहाँका सबै ह्याचरी र नर्सरीको उत्पादन विवरण हेर्दा वार्षिक तीन करोड भुरा उत्पादन हुने गरेको छ । यो तथ्याङ्क अनुसार हामी अब आत्मनिर्भरताको अवस्थामा छौ अधिकृत यादवले भन्नुभयो ।

तीन वर्ष चार वर्षअघि मात्र भैरहवा, मकवानपुर लगायतका जिल्लाबाट भुरा नल्याएसम्म यहाँको माग पूरा हुने थिएन तर अहिले नल्याए पनि पुग्ने अवस्था छ ।जिल्लाको भण्डारा, टाडी, कठार, माडी, पश्चिम चितवन शङ्कर चोकलगायतको स्थानमा ह्याचरी रहेका छन् । ती सबै स्थानमा सानो र ठूलो संख्यामा माछाका भुरा उत्पादन हुदै आएको छ ।

यहाँ उत्पादन भएको माछा पूर्वमा मकवानपुर, बारा, पर्सा, झापा, पोखरा जाने गरेको ह्याचरी सञ्चालन गर्दै आउनुभएका पूर्वी चितवनका मनोज सहनीले बताउनुभयो । चितवनका भुराको माग बाहिरी जिल्लामा छ उहाले भन्नुभयो यहा बिक्री थोरै हुन्छ त्यसैले झापा लैजाने गरेको छु । बाहिरी जिल्लामा लैजँदा पैसा धेरै आउछ, आम्दानी राम्रो हुने भएकाले टाढा लैजाने गरेको हो सहनीले भन्नुभयो । उहाका अनुसार माछाका भुरा बिक्री गरेर वार्षिक १५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।

जिल्लामा अहिले माछा पालन गर्ने किसानको संख्या वृद्धि हुदै गएकाले ह्याचरीले उत्पादन वृद्धि गर्दै लगेको नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो । माछा पालन गर्ने किसान बढे पनि राज्यको तर्फबाट सहयोग पाउन नसकिएकाले किसानलाई कठिन भएको बताउनुभयो ।

माछा पालन गर्ने किसानलाई प्रविधिमा सहयोग गर्ने, व्यावसायिक रूपमा पालेका किसानलाई विद्युत्मा सहुलियत गर्ने व्यवस्था गरे किसानको अझ आकर्षण बढ्ने उहाले बताउनुभयो ।चितवनमा अहिले पाच सय बिघामा माछा पालन भइरहेको छ । हरेक वर्ष माछा पालन गर्ने किसानको संख्या बढ्ने भएकाले यो संख्याअझ वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ ।

सामान्यतया एक कठ्ठाको एउटा पोखरीमा तीन सयको संख्यामा माछाको भुरा पाल्नुपर्ने यसका विज्ञले बताउने गरे पनि चितवनका कृषकले पाच सयदेखि एक हजारसम्म माछाका भुरा पाल्ने गर्छन् । माछाको ह्याचरीले माछा पालेर अण्डा तथा अण्डाबाट बच्चा बनाउछन् भने नर्सरीले ह्याचरीबाट उत्पादन भएका बच्चा हुर्काउने गर्छन् ।

Loading...