बेइजिङमा देखिएको हरियो रेलको तरंग विश्वभर फैलियो, उत्तर कोरियाली नेता किमको पहिलो विदेश भ्रमण

बेइजिङ । सोमबार बेइजिङमा देखिएको हरियो रेलले विश्वको ध्यान तानेको छ। विशेषगरी उच्च सुरक्षा सतर्कताकाबीच बेइजिङमा देखिएको रेलमा को सवार थियो भन्ने अझै एकीन नभए पनि त्यहाँ उत्तर कोरियाली नेता किम जोङ उन थिए भन्ने अाशंक फैलिएको छ ।

यस्तै रेल सन् २०११ मा विश्व भ्रमणमा निस्किँदा उत्तर कोरियाका नेता उनका पिता दिवंगत नेता किम जोङ इलले प्रयोग गरेका थिए । उनले त्यतिवेला रूस भ्रमण गरेका थिए ।

पुरानो प्रकारकै हरियो रेल बेइजिङमा स्थानीय समय अनुसार सोमबार साँझ देखा परेको थियो । यसमा उत्तर कोरियाका नेता किम जोङ उन वा अन्य उच्चस्तरीय अधिकारी रहेको अनुमान गरिएको छ ।

यदि बेइजिङमा किमको उपस्थिति भएको हो भने यसले बेइजिङ र प्योङयाङबीचको नजिकको साझेदारीलाई प्रष्ट पारेको छ ।

यता चीनको परराष्ट्र मन्त्रालयले भने प्योङयाङका पाहुनाका बारेमा जानकार नरहेको जनाएको छ। पत्रकारहरुको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै जानकारी नरहेको बताएका हुन् ।

यो रेलको प्रयोग किमको परिवारले मात्र नभइ उत्तरका उच्च अधिकारीहरुले समेत प्रयोग गर्दै आएका छन् । उत्तर कोरियाली नेतृत्वका बारेमा जानकार माइकल म्याडेनका अनुसार रेलमा उत्तर कोरियाली नेता किम जोङ उन वा उनकी बहिनी किम यो जोङ हुन सक्ने बताएका छन् ।

उनी उत्तर कोरियाको कोरियन वर्कर पार्टीकी प्रोपोगाण्डा तथा एजिटेशन डिपार्टमेन्टकी प्रमुख समेत हुन् ।

गत महिना मात्र उनले दक्षिण कोरियाको भ्रमण गरेकी थिइन्। भ्रमणका क्रममा उनले दुई पटक दक्षिण कोरियाली राष्ट्रपतिसँग भेट गरेकी थिइन्।

उत्तर कोरियाली नेता किमले सत्तामा आएपछि हालसम्म कुनै पनि विदेशी राष्ट्र प्रमुखलाई भेटेका छैनन्। उनी सन् २०११ को अन्त्य तिर सत्तामा आएका थिए।

जापानको निपान न्युज नेटवर्कले हरियो डिब्बा भएको सो ट्रेनको दृश्य प्रसारण गरेको छ। ब्लुमबर्गले किमले अाश्चर्यजनक रूपमा चीन भ्रमण गरेको स्रोतलार्इ उदृत गर्दै समाचार लेखेको छ। समाचारमा मानिसहरूलार्इ उनलार्इ पहिचान नगर्न भनिएको समेत समाचारमा भनिएको छ।

Loading...