एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः वाल्मीकि फाईनलमा प्रवेश

चितवन । वाल्मीकि शिक्षा सदन भरतपुर चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

समूह ‘ बी’ अन्तरगत अन्तिम खेलमा आज (आईतबार) कृषि तथा वन विश्वविद्यालय (एएफयु) रामपुरलाई रोमाञ्चक खेलमा एक रनले पराजित गर्दै वाल्मीकिले फाईनल यात्रा सुनिश्चित गरेको हो ।

वाल्मीकिले दिएको १०९ रनको सामान्य लक्ष्य पछ्याएको रामपुर अन्तिम ओभरमा १०७ रनमा अलआउट हुन पुग्यो । रामपुरका सक्षम पाण्डेले २७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । वाल्मीकिका सुधिर यादवले ३ ओभरमा एक मेडन र २२ रन दिएर ४ विकेट लिए । यस्तै राजन श्रेष्ठले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको वाल्मकिले निर्धारित ओभरमा अलआउट हुँदै १०८ रन जोडेको थियो । उसका लागि सुजन दाहालले १७ र संग्राम अर्यालले १४ रन बनाए । खेलमा वाल्मीकिका सुधिर यादव म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको उपाधिका लागि अब (पर्सी) चैत २० गते बालकुमारी कलेज नारायणगढ र वाल्मीकि शिक्षा सदन भरतपुर भिड्ने छन् । बालकुमारी समूहको ’ए’ को विजेता भन्दै फाईनल पुगेको थियो ।

Loading...