चितवनमा बर्डफ्लुको आशंका, एकै फर्ममा ३७ सय कुखुरा मरे, तीन दिन देखि कुखुरा गाड्न व्यस्त छन् सञ्चालक

चितवन । चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका छन् । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ ।

स्थानीय अमृत लामिछाने र द्रोण लामिछानेले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरा एक पछि अर्को गर्दै मर्न थालेका हुन् ।

विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेपछि बिहिबार जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ अनुगमनका लागि पुगेका थिए।

कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भए पनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको छ तर रिपोर्ट आएपछि यथार्थ भन्न सकिने उनको भनाइ थियो ।

कसरी शुरु भयो त रोग ?
गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साँझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौं गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनले तत्काल कुखुराको परीक्षणको लागि भरतपुर पुगे ।

१६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । ‘रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौ पठाउनुपर्ने थियो । उनीहरुले पठाइदिएनन्,’ लामिछानेले दुःखेसो गरे ‘त्यस लगत्तै मैले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि स्याम्पल लिएर गएको थिए ।’

उनका अनुसार त्यतिवेलासम्म खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेका थिए । पुनः रिपोर्टमा पुरानै नतिजा देखिएपछि थप परीक्षणको लागि जिल्लाबाट नमुना काठमाडौँ पठाइएको थियो ।

‘पटक पटक हामीले जिल्ला पशु सेवा कार्यायलमा निरीक्षणको लागि अनुरोध गर्दा पनि यसतर्फ सुनुवाइ भएन्,’ सञ्चालक लामिछानेले भने, ‘आज उहाँहरु निरीक्षणमा आउँदा ढिलो भइसकेको थियो । करिब करिब सबै कुखुराहरु सकिने अवस्था थियो ।’

कुखुरा फर्म सञ्चालकलाई भएको क्षति
लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ ।

उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरु थुप्रा थुप्रा लगाई राखिएको छ । अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा देखिन्छन् भने मरेका कुखुराहरु थुप्रो थुप्रो र ठाउँ ठाउँमा खोरभित्रै ढलेको देखिन्छ भने केही ढल्दै गरेको पनि देखिन्छ ।

सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा कुखुरा सबै सकिने अवस्थामा छ, उनले दुखेसो पोखे ।

बर्ड फ्लुको आशंकामा परिवारजनले घर छाडे
१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् । रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् । विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ ।

सञ्चालक लामिछानेलाई ३ दिनदेखि मरेका कुखुरा गाँड्न भ्याईनभ्याई
फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता हुनै लाग्यो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाई कुखुरा गाँडेका छन् ।

उनले शुरुमा खाल्डो खनी ४ सय कुखुरा गाँडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनी करिव ७–७ सय कुखुरा गाँडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनी १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेका थिए । उनले आज पनि आफु, श्रीमती र खाडल खन्ने खेताला समेत लगाई गहिरो इनार जस्तो खाडल खनेका छन् ।

हालसम्म उनले ५ वटा खाडल खनेर कुखुरा गाडेको देखाएका थिए । सो कुखुरा पुरेको ठाउँ वरपर दुर्गन्ध समेत फैलिएको छ भने अब उनको बारीमा थप कुखुरा गाँड्ने ठाउँ समेत अभाव देखिएको छ ।

मरेका कुखुराको ल्याव परीक्षण कहाँ हुँदैछ त ?
२ पटकसम्म १६ गते र २० गते भरतपुर स्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । सो रोग देखिएपछि काठमाडौ पठाइएको स्याम्पल छिटो छिटो भन्दा परीक्षण गर्न पटक पटक काठमाडौं स्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए ।
‘आजपनि धेरैपटक मैले फोन गरे, ३ बजे दिउसो आउने भनेको रिपोर्ट आएको छैन, १ हप्ता भयो खोरको कुखुरा मरेर सकिइ सक्यो,’ उनले भने ।

Loading...