भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहल गर्ने प्रचण्डको प्रतिवद्धता

चितवन । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहल गरिने बताउनु भएको छ । आइतवार भरतपुर अस्पतालको ५५आंै वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले पहिचान बिहिन रहेको भरतपुर अस्पतालले जिल्ला अस्पताल भन्दा धेरै माथीको सेवासुविधा दिइरहेकोले प्रादेशिक अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

प्रादेशीक अस्पताल बन्न सक्षम रहेको भरतपुर अस्पताल लाई प्रादेशिक स्तरको अस्पताल बनाउन आफ्नो तर्फ बाट सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।

वार्षिकोत्सबको अवसरमा पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्पतालमा रहेको नयाँ सिटि स्क्यान , बहिरंग भवन , डायालोसिस र अक्सिजन प्लान्टको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।

उहाँले भरतपुर अस्पतालको जग्गा विभिन्न संघसंस्थालाई भाडामा र निशुल्क रुपमा दिने पुरानो निर्णय र सम्झौता पुर्न्विचार हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको कुल ३१ बिगाह जग्गा भएता पनि विभिन्न संघसंस्था , सरकारी र निजी क्षेत्रलाई निशुल्क र केहीलाई अत्यन्तै न्युन शुल्कमा भाडामा दिइएकाले अहिले अस्पताल ११ बिगाह जग्गामा सिमित रहेको छ ।

वि सं २०१३ मा स्थापना भएको भरतपुर अस्पतालमा वार्षीक रुपमा करिव २ लाख भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

Loading...