दिल्लीबाट उद्घाटन गरिएको अार्इसीपीले नेपाललार्इ के फाइदा?

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन दिल्लीबाट नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गरे। नयाँ दिल्लीको हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शनिबार उद्घाटन गरेकै दिन यही जाँच चौकी हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेको ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् । नेपालतर्फबाट गोल्डस्टार जुत्ता मालबाहक ट्रकसहित तीनवटा गाडी भारत गए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माका अनुसार अाइसीपीको सञ्चालनबाट ३० प्रतिशत पारवहान खर्चमा कमी आउनेछ।

वीरगञ्ज र सीमावर्ती भारतीय शहर रक्सौलको १० लाख जनसंख्या जाम मुक्त भएको उनले बताए। नेपालमा धेरै बिदा हुने भएकोले वीरगञ्जदेखि ३० किलोमिटर टाढा सुगौलीसम्म नेपालमा भित्रिनु पर्ने मालवाहक सवारी साधानको जाम लाग्थ्यो अब त्यो अन्त्य हुनेछ।

भारतीय ट्रान्सपोर्टले रक्सौलमा ४ दिनसम्म जाममा बस्नु पर्दा डिटेनशन चार्ज दैनिक एक हजार देखि १५ सय रुपैयाँसम्म लिने गरेका थिए।

आईसीपी संचालनमा आएपछि भाडामा पनि कमी आउने र डिटेशन चार्ज तिर्न नपर्ने भएकोले पनि उद्योगीहरुले राहत महशुस गरेका हुन् ।

प्रविधियुक्त आईसीपीको निर्माणले व्यवसायीहरुको समय र लागत बच्ने भएको छ । भन्सारमा पनि छिटो र छरितो रुपमा सामानाको जाँचपास हुनेछ । कम्प्युटराइज्ड प्रणालीले जाँचपास हुने भएकोले धेरै समय लाग्दैन । हाइटेक प्रविधियुक्त आईसीपी कसरी संचालन हुन्छ भन्ने प्रश्न व्यवसायीहरुको मनमा उठेको वीरगञ्जका युवा उद्यमी नवनित अग्रवाल बताउँछन्।

भारत सरकारको १ अर्ब ३९ कारोडको लागतमा निर्माण भएको आईसीपी वीरगञ्ज महानगरको अलौ र सिर्सियाको १ सय १५ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरमै ५ सय वटा मालवाहक सवारी पार्किङ गर्न मिल्ने अवस्था छ ।

प्रमुख पोखरेलले आईसीपीको सडकसँग जोडिएको ६ लेन सडकको आर्दशचोक खण्डको ७ सय मिटर सडक नबन्दासम्म समस्या हुने बताउँछन्। त्यो सडक नवन्दासम्म पूर्ण क्षमतामा आईसीपी संचालनमा आउन नसक्ने उनको भनाई छ ।

सडक निर्माणको जिम्मा भने पप्पु कन्सट्रक्सनले पाएको छ । सरकारले त्यो सडक क्षेत्रका जनतालाई मुआव्जा भने दिन सुरु गरेको छ । आइसीपी भित्र पार्किङ, गोदामको निर्माण गर्नुपर्ने छ ।

नेपाल सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३ सय १५ जना जग्गाधनीको १ सय १५ विघा क्षेत्रफल जग्गा अधिग्रहण गरी आईसीपी निर्माण गरिएको हो ।

आइसिपीमा ७ सय ३० वर्ग मिटर क्षेत्रफलका पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, क्वारेन्टाइन कार्यालय भवन ,आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहेका छन् ।

एकै छाना मुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्थाहरु आउनाले मानवीय तथा मालसामानको अन्तरदेशीय आवत-जावतलाई झन्झटरहीत बनाउने छ । यो सहजताका कारण अहिले ठूलो सकस भोगेर दैनिक १ हजार मालवाहक सवारी साधन नेपाल भित्रिरहेकोमा अब भने त्यस्तो सकस भोग्नु पर्ने छैन ।

यसकै समानान्तर भारतीय भूमिमा पनि भारत सरकारले यस्तै खाले दुरुस्त भन्सारको संरचना निर्माण गरेको छ । १ सय ६५ एकड जग्गामा फैलिएको आईसीपी परिसरमा १ लाख ८४ हजार वर्ग मिटरमा भवनसहितका विभिन्न संरचना निर्माण गरिएका छन् । भारतीय कम्पनी राइट्स योजना व्यवस्थापन सल्लाहकार रहेको यो परियोजना भारतीय ठेकेदार कम्पनीहरु केएस सफ्टनेट सोल्युसन्स र नागार्जुना कन्सट्रक्सन कम्पनीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Loading...