राष्ट्रपति रनिङ शिल्ड जारी

चितवन । दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चितवनमा क्षेत्रीय खेलहरु सञ्चालन भइरहेका छन् । मंगलबारदेखि क्षेत्र नम्बर २ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्रीय खेल सुरु भएको हो ।

रनिङ शिल्ड अन्तर्गत सुरु भएको क्षेत्रीय खेलमा एक सय मिटर दौड, दुई सय मिटर दौड, आठ सय मिटर दौड, १५ सय मिटर दौड, लङजम्प, भलिबल, कबड्डी लगायतका खेलहरु मंगलबार भएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा नै बुधबार चार सय मिटर दौड र तीन किलोमिटर दौड, सटपुट, हाइजम्प, त्रिपलजम्प, ज्याब्लीङ थ्रो हुनेछ । त्यस्तै मार्सल आर्ट अन्तर्गत कराते, तेकवान्दो र उसुको खेल भने वैशाख ७ गते गर्ने जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।

भरतपुरमा सुरु भएको क्षेत्र नम्बर २ को खेलकुदको उद्घाटन गर्दै प्रदेश सांसद विजय सुवेदीले संसारमा नेपालले नाम कमाउन सक्ने क्षेत्र भनेको खेलकुद नै भएको बताउनुभएको छ । शिक्षा, स्वास्थ्य, विज्ञान लगायतका क्षेत्रहरुमा अरुले नेपाललाई पछाडि पारिसकेकोले अब खेलकुदको विकास गर्दै नेपालले उत्कृष्ट खेलाडी उत्पादन गर्नुपर्ने सुवेदीले बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय खेल वैशाख २ गते सुरु हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

चितवनका तीन वटै क्षेत्रबाट विजयी भएका खेलाडीहरुले वैशाख ७ गते जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिनुभयो ।

Loading...