प्रदेश २ को नीति तथा कार्यक्रमः माघ ५ गते मधेस अान्दोलन दिवस देखि ‘बेटी पढाउ, बेटी बचाउ’अभियान सम्म

धनुषा । प्रदेश २ को प्रदेश सरकारले अाफ्नो नीति तथा कार्यक्रम संसद समक्ष पेश गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४-०७५ को बाँकी अवधिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा पेश गरेका हुन्।

नीति तथा कार्यक्रममा सुशासन, सशक्तीकरण र विकासलाई प्रमुख प्राथमिकतामा राख्दै लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहित गरिने उल्लेख छ ।

कार्यक्रममा सुनकोशी–कमला डाइभर्सन सिँचाइ आयोजना निर्माण गर्न संघीय सरकारसँग सहकार्य र समन्वय गर्ने उल्लेख छ । त्यसतै रिनुका साथै वाग्मती र नारायणी सिँचाइलाई प्रभावकारी बनाउन संघीय सरकारसँग सहकार्य गरिने, आठवटै जिल्लामा साना र मझौला सिँचाइ आयोजना निर्माणका लागि डिपिआरको प्रक्रिया थालनी गरिने छ ।

वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना जस्ता बन्द उद्योगलाई सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने कार्यक्रममा उल्लेख छ। त्यस्तै काठमाडौँ तराई द्रुतमार्ग, हुलाकी राजमार्ग, राष्ट्रपति चुरे संरक्षण आयोजना, पूर्वपश्चिम रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका योजना तथा जयनगर–बर्दिबास रेलमार्ग, सिमरा विशेष आर्थिक क्षेत्रजस्ता राष्ट्रिय आयोजनाको कार्यान्वयनका लागि पहल गरिने समेत प्रदेशसभामा पेश भएको नीति तथा कार्य्रकममा उल्लेख छ ।

प्रदेशभित्र उपयुक्त स्थानमा अत्याधुनिक अस्पतालको निर्माण, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल तथा जनकपुर अञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने, जानकी मेडिकल कलेज धनुषा र नेशनल मेडिकल कलेज वीरगञ्जको स्तर सुधार गर्न अध्ययन समिति गठन गरिने छ ।

त्यस्तै प्रदेशमा ‘मुख्यमन्त्री उद्धार तथा पुनःस्थापना कोष’को व्यवस्था गरिएको छ।

वातावरणीय स्वच्छता कायम गर्न प्रदेशभित्रका पोखरी, जलाधार, वन तथा वन्यजन्तुको संरक्षण र विकास गरी आयआर्जनसँग आबद्ध गरिने, प्रदेशलाई हरित बनाउने, प्रदेशस्तरीय जलवायु अनुकूलन कार्यक्रमको पहिचान गरिने, प्राकृतिक विपत्तिमा पीडितको उद्धार र पुनःस्थापनाका लागि ‘मुख्यमन्त्री उद्धार तथा पुनःस्थापना कोष’को व्यवस्था गरिने जनाइएको छ ।

माघ ५ मा मधेश आन्दोलन दिवस मनाइने
शहीद स्मृति प्रतिष्ठान स्थापना, २०६३ माघ ५ गते भएको पहिलो ऐतिहासिक मधेश आन्दोलनको दिनलाई सम्झना स्वरूप प्रदेशभरी मधेश आन्दोलन दिवस मनाइने नीति उल्लेख छ ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको स्थापना, स्थानीय तहमा सरकारी बैंकको शाखा विस्तार, युवालाई रोजगारीको अवसर सिर्जना, प्राविधिक शिक्षाको केन्द्र, प्राथमिक तहदेखि मातृभाषा शिक्षा लागू र मदरसा शिक्षालाई मूलप्रवाहीकरण गरी औपचारिक तथा व्यावसायिक बनाइने छ ।

Loading...