परराष्ट्र मन्त्री ज्ञवाली चीनमा, चिनियाँ उपराष्ट्रपति क्वीसानसँग भेट्ने

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीभन्दा अघि नै उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गर्ने भएका छन् ।

उपराष्ट्रपति वाङ राष्ट्रपति सी जिनफिङका विश्वास प्राप्त शक्तिशाली नेता हुन्। वाङसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता बेइजिङको सरकारी निवास चोङनाङहाइमा बुधबार बिहानलाई तय भएको बेइजिङ स्थित नेपाली दुतावास स्रोतले जनाएको छ।

उच्च नेतासँगको भेटवार्ताबारे कुटनीतिक तहबाट पहिले नै जानकारी दिने चलन बेइजिङमा छैन। तर चीनका अधिकारीहरूले यसपटक उपराष्ट्रपति वाङसँग नै भेटवार्ता आयोजना गर्न लागिएको संकेत नेपाली अधिकारीहरूलाई दिएका छन्।

राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङपछि वाङ बेइजिङमा अर्का शक्तिशाली नेता हुन्, जसले दुई पक्षबीच भएका छलफलको ब्रिफिङ सिधै राष्ट्रपतिलाई गर्न सक्नेछन्।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली सात सदस्यीय स्थाई समितिमा रहेर भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुख भएका वाङलाई सीले गत मार्चमा सुरु भएको दोस्रो कार्यकालबाट उपराष्ट्रपति छनोट गरेका हुन्। तर उनी अहिलेको पाँच सदस्यीय स्थाई समितिमा छैनन्।

बुधबार उपराष्ट्रपतिसँग भेटवार्ता लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जुन यसपटक बेइजिङको स्टेट गेष्ट हाउस दियोथाइमा राखिएको छ। ज्ञवालीलाई त्यही होटलमा बस्ने व्यवस्था मिलाइएको छ।

सोमबार राती ११ बजे काठमाडौंबाट उडेर दक्षिण चीनको ग्वान्झाओ हुँदै परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार ११ बजे बेइजिङ उत्रिँदै छन्।

ज्ञवालीको टोलीमा परराष्ट्र मन्त्रालयमा चीन डेस्क हेर्ने सहसचिव गणेशप्रसाद ढकाल र उपसचिव कुमार राई हुनेछन् भने बेइजिङबाट राजदूत लीलामणी पौड्याल, दूताबासका उपप्रमुख सुशील लम्साल संलग्न हुनेछन्।

Loading...