राष्ट्रपति रनिङ सिल्डको तयारी पूरा

शुक्रबारदेखि भरतपुरमा सुरु हुने १०औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । भरतपुरको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा शुक्रबार बिहानदेखि सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगिताको तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

क्षेत्रीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु प्रतिस्पर्धा गर्ने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार बिहान प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्सका १३ वटा विद्याका साथै कबड्डी, भलिबल र मार्सल आर्टका तेकवान्दो र करातेका खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।

उक्त प्रतियोगितामा विभिन्न १७ वटा विधामा ४० भन्दा बढी विद्यालयबाट छ सय जना छात्रछात्रा सहभागी हुने लामाको भनाइ छ । प्रतियोगितामा पहिलो हुने विद्यालयले नगद १५ हजार रुपैयाँ पुरस्कार र खेलकुद पूर्वाधार सामग्रीका लागि ३५ हजार रुपैयाँ गरि ५० हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, दोस्रो हुने विद्यालयले १२ हजार रुपैयाँ पुरस्कार सहित खेलकुद पूर्वाधार सामग्रीको लागि २० हजार रुपैयाँ गरि ३२ हजार रुपैयाँ तथा तेस्रो हुने विद्यालयले नौ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा विजेता हुने विद्यालयले नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने एथलेटिक्स र मार्सल आर्टस्मा सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।

जिल्ला स्तरीय खेलबाट छनौट भएका उत्कृष्ट ७३ जना खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने ढकालको भनाइ छ ।

Loading...