दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, खेलकुद पत्रकारित पुरस्कार पोखरेललाई प्रदान

चितवन । चितवनमा दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । क्षेत्रीय खेलबाट छनौट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतियोगिताको प्रदेश ३ का भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभएको हो ।

भरतपुरको गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लामाले खेलकुदको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । खेलकुदका माध्यमबाट राष्ट्रको विकास गर्न सकिने र खेलकुदले अनुशासित नागरिक उत्पादन गर्ने भएकोले विद्यालय खेलकुदले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने लामाले बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्सका १३ वटा विधाका साथै कबड्डी, भलिबल, तेकवान्दो र कराँतेका खेलहरु सुरु भएका छन् । जिल्लास्तरीय प्रतियोगितामा ४० विद्यालयबाट छ सय जना छात्रछात्रा सहभागी भएका जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने विद्यालयले नगद १५ हजार रुपैयाँ पुरस्कार र खेलकुद पूर्वाधार सामग्रीका लागि ३५ हजार रुपैयाँ गरि ५० हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, दोस्रो हुने विद्यालयले १२ हजार रुपैयाँ पुरस्कार सहित खेलकुद पूर्वाधार सामग्रीको लागि २० हजार रुपैयाँ गरि ३२ हजार रुपैयाँ तथा तेस्रो हुने विद्यालयले नौ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । जिल्ला स्तरीय खेलबाट छनौट भएका उत्कृष्ट ७३ जना खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने ढकालको भनाइ छ । यसैबीच, जिल्ला खेलकुद विकास समिति चितवनले विगत चार वर्षदेखि प्रदान गर्दै आएको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष खेलकुद पत्रकार आनन्द पोखरेललाई सम्मान गरेको छ ।

जिल्लामा रहेर समाचारका माध्यमबाट खेलकुदको वृद्धि विकासमा सहयोग पु¥याएको भन्दै समितिले १० हजार रुपैयाँ राशिको पुरस्कार पोखरेललाई प्रदान गरेको हो । पोखरेल चितवनको आभास टेलिभिजनका समाचार प्रमुख हुन् भने राजधानीबाट प्रशारण हुने जनता टेलिभिजनका चितवन सम्वाददाता समेत हुन् ।

Loading...