संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ

काठमाडौं । संघीय संसदका नवनियुक्त दुई सचिवले आज (बुधबार) पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसद सचिवालय सिंहदरबारमा आज एक समारोहको आयोजना गरी प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगी र राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयालले पद तथा गोपनियताको सपथ लिएका हुन्।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगीलाई शपथ खुवाएका हुन् भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई शपथ दिलाएका हुन् ।

संविधानको धारा १०६ बमोजिम योगीलाई सभामुखको सिफारिसमा र फुँयाललाई राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले क्रमशः प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका थिए।

शपथ ग्रहण समारोहमा सभामुख र अध्यक्षका साथै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्ता पक्ष तथा विपक्षी दलका प्रमुख सचेतकहरु, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नवनियुक्त सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुँयालले आजै कार्यभार सम्हालेका छन्।

Loading...