चितवनमा निर्माणाधिन कृषि प्रवद्र्धन बजारको अवलोकन

चितवन । प्रदेश ३ का भूमि सुधार, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले प्रदेश ३ लाई कृषि, वन र पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन कृषि प्रबद्र्धन बजार विकास प्रालिको अवलोकन गर्दै मन्त्री लामाले त्यसमा पनि कृषिमा सबैभन्दा बढी सम्भावना बोकेको जिल्ला चितवन भएको बताउनुभयो ।

लामाले युवाहरुलाई फलफूल खेती, तरकारी खेती, पशुपालन तर्फ अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो । गाई पालनबाट दूध खान पाउने र गाईको गोबरले अर्गानिक तरकारी उत्पादन गर्न सकिने भएकाले स्वस्थ जीवन बाच्न पाइने मन्त्री लामाको भनाइ थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा करिब १२ करोड रुपैयाँको लगानीमा तरकारी मण्डी सञ्चालनको लागि निर्माण कार्य तीव्र पारिएको छ । १६ वर्षको लागि लिजमा लिएर सञ्चालन गर्न लागिएको कृषि प्रवद्र्धन बजारमा आगामी भदौदेखि व्यावसायिक काम थालिनेछ । निर्माणाधीन तरकारी मन्डी अवलोकनका क्रममा व्यवसायीहरुले कृषि मन्त्री लामालाई आफुहरुको समस्या र मन्डीको विकासमा गर्नुपर्ने कामको बारेमा मागपत्र समेत बुझाएका छन् ।

Loading...