मोदीले गरे प्रदेश २ लाई एक अर्बको सहयोग घोषणा

धनुषा । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि भारत सरकारको तर्फबाट एक अर्ब बराबरको सहयोगको घोषणा गरेका छन्।

नागरिक अभिनन्दन कार्यक्रममा उनले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका हुन्। उनले प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर परियोजना छनोट गर्ने समेत बताए। उनले भने, “यो १०० करोड भारतीय जनताको तर्फबाट माता जानकीलाई समर्पण रहेको छ ।”

साथै, उनले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा भारत सरकार उन्मुख रहेको बताउँदै माता सीता र भगवान् रामले पाइला टेकेका धार्मिक स्थललाई समेटेर यसको विकास गर्न भारतीय सरकार अग्रसर रहेको बताए । उनले बुद्ध सर्किट र जैन सर्किटको विकासका लागि पनि आफू क्रियाशील रहेको बताए ।

उनले सन् २०१४ मा नेपाल आएका बेला संविधानसभामा जनकपुर जाने प्रतिबद्धता व्यक्त गरेअनुरुप आज राजा जनकको राजधानी तथा जनक जननी सीताको भूमिमा आउने धोको पूरा भएकामा जीवन धन्य भएको बताए ।

Loading...