बाढीले चार घर पुरिए, सडक अवरूद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।

लगातारको वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।

बाढीले बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष फगामीले जानकारी दिए।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

Loading...