अाजदेखि प्रदेश नं ५ को प्रदेशसभाको दोस्रो अधिवेशन

रूपन्देही । प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो । यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५-७६ का लागि सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने छ ।

प्रदेश सरकारले चालु आवको २०७४-७५ को अन्तिम तीन महिनाका लागि रु एक अर्ब पाँच करोडबराबरको बजेट सार्वजनिक गरेको थियो । आगामी आव २०७५-७६का लागि प्रदेश सरकारलाई संघीय सरकारले करिब रु १५ अर्ब ४२ करोडको बजेटको सिलिङ रहेपनि प्रदेश सरकारले भने करिब रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ ।

प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ ।

बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ ।

Loading...