उपेन्द्र यादवले गरे प्रदेश २ का मुख्यमन्त्रीको बचाउः राउतको भनाई देशभक्तीपूर्ण र जायज

चितवन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले बोलेको कुरा देशभक्तीपूर्ण र जायज भएको बताउनुभएको छ ।

आज भरतपुरमा संचारकर्मीहरुसंग कुरागर्दै यादवले प्रदेश २ का मूख्य मन्त्री राउतले भारतिय प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई सुनाउन नभई राष्ट्रिय एकतालाई मजबुद बनाउने र प्रदेश नम्बर २ लगायत नेपालमा संघियताको जुन स्थिति रहेको छ त्यसलाई उजागर गर्ने प्रयास गर्नुभएको दावी गर्नुभयो ।

मुख्यमन्त्रीले बोलेको कुरा देशभक्तीपुर्ण भएको भन्दै देशको अपमान हुने काम केन्द्र सरकार र प्रधानमन्त्रीले गरेको यादवले आरोप लगाउनुभएको छ । आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको सबैभन्दा ठूलो अपमान भएको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले केन्द्रबाट चार÷चार जना मन्त्रीलाई पठाएर दुई÷दुई जनाले स्वागत गर्नु गाईजात्रा जस्तो भएको टिप्पणी गर्नुभयो । नेपालका प्रधानमन्त्री भारत जाँदा प्रदेश मूख्य मन्त्री र मन्त्रीले स्वागत गरेको उदाहरण दिँदै उहाँले सरकारले चलाएको कदम गलत भएको बताउनुभयो ।

त्यस्तै यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्धा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको बताउनुभयो । वर्तमान सरकारलाई आफूहरुले समर्थन गरि सकेको भन्दै उहाँले एक दुई मन्त्रालय लिएर जागिर खानका लागि मात्रै सरकारमा जानुको औचित्य नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादव जिल्ला कमिटीले भरतपुरमा आयोजना गरेको राजनैतिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्न चितवन आईपुग्नु भएको हो ।

Loading...