पिप्रहर सामुदायीक होमस्टेमा पर्यटक बढ्दै

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहन सहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् ।

चालु आर्थिक वर्षमा २ हजार ५६६ जना पर्यटक पिप्रहर होमस्टे पुगेका छन् । जसमध्ये २ हजार ४५४ जना नेपाली पर्यटक छन् । यस्तै ९० जना सार्क राष्ट्रका पर्यटक छन् भने २२ जना अन्य मुलुकका पर्यटक छन् । गत आर्थिक वर्षमा २ हजार ७१५ जना पर्यटक पिप्रहर होमस्टेमा बसेका थिए ।

जसमध्ये १४ जना विदेशी पर्यटक थिए । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार उपभोक्ता समिति र तत्कालीन रजहर गाविसको पहलमा २०७२ फागुन १९ गतेदेखि पिप्रहरमा २२ वटा होमस्टे सञ्चालन गरिएको हो । होमस्टे प्रायः भरिभराउ हुने ,साउन बाहेक सबै महिनामा प्रायः बुकिङ भइरहेको पिप्रहर सामुदायिक होमस्टे अध्यक्ष झनकबहादुर महतोले बताउनुभयो ।


होमस्टेको प्रचार प्रसार गर्न नसक्दा विदेशी पर्यटक कम आउने गरेका छन् । नेपाली पर्यटकको संख्या राम्रो रहेको तर, पर्याप्त विदेशी पर्यटक नआएको महतोले बताउनुभयो । होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहन सहनमा पर्यटक रमाउने गरेका छन् । यो वर्षमात्रै ६० भन्दा बढी सेमीनार तथा कार्यक्रम भएको उहाले बताउनुभयो ।

होमस्टेमा बस्न आउने पर्यटक स्थानीयले देखाउने सांस्कृति बढी रुचाउने गर्छन् । उहाका अनुसार थारु, मगर समुदायका नाच देखाइन्छ र समूहगत आउने टोलीले ४ हजार रुपैया तिरेर सांस्कृतिक कार्यक्रम हेर्न पाउनेछन् । उहाका अनुसार होमस्टे सञ्चालनबाट यो वर्षमात्रै २३ लाख ९४ हजार ७०६ रुपैयाँ आम्दानी भएको छ ।

यो आम्दानी पर्यटकले तिर्ने बसाइ शुल्क, साधरण खानपिन र टुर प्याकेजसहितको रकम हो । यस्तै गत आर्थिक वर्षमा १७ लाख ८४ हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो । पिप्रहरमा ८० लाख ९० हजार खर्चेर सांस्कृतिक भवन निर्माण भएको छ । नेपाल पर्यटन बोर्ड, लुम्वीनि क्षेत्र पर्यटन विकास समिति, तराई भूपरिधि (ताल), साविक रजहर गाविस, सिसुवार मध्वयर्ती क्षेत्रले भवन निर्माणमा सघाएका थिए ।

छिटै सांस्कृतिक संग्रहालय बनाउने योजना समेत रहेको होमस्टे–४ का सञ्चालक खड्कबहादुर महतोले बताउनुभयो । होमस्टे सञ्चालन हुदा यहा बिकास तथा गाउको बातावरण नै परिवर्तन भएको महतोले बताउनुभयो ।

सुरुमा बुकिङ भएको होमस्टेको बाकी होमस्टेमा बुकिङ भएपछि मात्रै पालो आउने प्रावधान छ । जसले धेरै थोरै पर्यटक आएपनि सबै होमस्टेको पालो आउने गर्छ । जागिर खोज्ने चिन्ता हटेको र उनले भने,घरका अन्य सदस्य पनि होमस्टे व्यवस्थापन खटिएको उहाले बताउनुभयो । पर्यटकले हास, लोकल कुखुरा, घोगी, चिचर लगायतका परिकार बढी रुचाउछन् ।

होमस्टे आउने पर्यटक निकुञ्जमा हात्ती सफारी, जीप सफारी, चौधरी ग्रुपको शास्वतधाम, देवचुली पदयात्रा, रजहरमा रहेको प्राकृतिक चिकित्सालय घुम्ने गर्छन् । होमस्टेमा चहलपहल बढ्न थालेपछि स्थानीय सडकको स्तरोन्नति गर्ने, गाउँ सफाइ अभियानलगायत काम हुन थालेका छन् । पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिव २ किमि दक्षिणर्फ लाग्नुपर्छ ।

Loading...