उग्रवादको अन्त्य वैष्णव भावनाले हुन्छ : चिन्न जीयर स्वामी

गैँडाकोट, श्री त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामीको गैँडाकोटमा शनिबार दिव्य अभिनन्दन गरिएको छ । विश्वविख्यात त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामी, श्री रंगनाथ मन्दिर श्रीधाम वृन्दावन उत्तर भारतका प्रतिनिधि तथा युवराज यतिराज स्वामी, हरिहर सन्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वती महाराज, निम्बार्क दर्शन केन्द्र गैँडाकोटका आचार्य हरिशरण शास्त्री महाराज लगायत सयौँ आचार्यहरुको समुपस्थितिमा स्वामी श्रीपराङ्कुशाचार्य स्वामीको दिव्य अभिनन्दन गरिएको हो ।

महोत्सवमा श्री शुकदेव भागवाताश्रमका संस्थापक श्रीपराङ्कुशाचार्य स्वामीजीको जीवनी एवं कृतिको लोकार्पण गरिएको छ । उहाँले गैँडाकोटका साथै सहस्रधारा, बर्दिया लगायतका क्षेत्रमा मठमन्दिर स्थापना गर्नुभएको छ, साथै उहाँका १२ दर्जन भन्दा बढी कृतिहरु प्रकाशन भइसकेका छन् । नेपाल तथा भारतका सन्त विद्वानहरुको सहभागिता रहेको कार्यक्रमका प्रमुख अतिथि रामानुज चिन्नजीयर स्वामीले देशमा व्याप्त उग्रवादको अन्त्य श्रीवैष्णव भावनाले मात्रै गर्न सकिने बताउनुभएको छ ।

सत् विचार, सहयोगी भावना, जिवात्मामा ईश्वर देख्ने भावना, असल आचरण र सत् गुण नै श्रीवैष्णव भावना रहेको उहाँको भनाइ छ । स्वामीले संसारका सम्पूर्ण कण तथा जीवात्मामा ईश्वर रहेको बताउँदै एक अर्कामा सम्मान, विश्वास र सहष्णिुता राख्न सकियो भने त्यसले शान्ति स्थापना गर्ने बताउनुभएको छ ।

मञ्चमा उपस्थित हरिहर सन्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वती महाराज, निम्बार्क दर्शन केन्द्र गैँडाकोटका आचार्य हरिशरण शास्त्री महाराज लगायत सयौँ आचार्यहरुको साथ लिएर नेपालमा धर्म संरक्षणका लागि अघि बढ्न पराकुंशाचार्य स्वामीलाई उहाँले आर्शिवचन प्रदान गर्नुभएको छ ।

कार्यक्रममा पराकुंशाचार्य स्वामीको जीवनी माथि सहस्रधारा मन्दिरका मठाधिश नारायणाचार्यले प्रकाश पार्नुभएको थियो भने, प्रकाशित कृतिको समिक्षा उभयवेदान्तका विद्वान श्रीकृष्णमाचार्य स्वामीले गर्नुभएको थियो ।

श्रीपराङ्कुशाचार्य रामानुज जीयर स्वामीजीको ९० वर्षको पावन अवसरमा जारी यस विशेष कार्यक्रममा देशभरबाट हजारौँको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रमका शुकदेव भागवताश्रमका महन्त श्रीलक्ष्मणाचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

श्रीवैष्णव परिषद नेपालका अध्यक्ष स्वामी देवराजाचार्यको अध्यक्षतामा शनिबारको अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो । शनिबार साँझ सवा करोड दिप प्रज्जवलनको समेत कार्यक्रम रहेको छ । यस विद्वत समारोह अघि नै सवा करोड अष्टाक्षर महामन्त्रको जप शुभारम्भ गरिसकिएको छ । आइतबार यज्ञ पूर्णाहुति एवं आचार्यहरुको सम्मान गरिने मूल समितिको भनाइ छ ।

Loading...