चलचित्र सुनकेसरी जेठ ११ गते सिनेमा घर

चितवन,नायिका ऋचा शर्माद्वारा निर्मित तथा अभिनित नयाँ चलचित्र सुनकेसरीको बारेमा चितवनमा पत्रकार सम्मेलन गर्दै नायिका ऋचा शर्माले चलचित्र उत्कृष्ट बनेको दावी गरेकी छिन् ।

भूतको कथामा आधारित चलचित्र सुनकेसरीको ट्रेलर समेत डरलाग्दो बनेको छ । अर्पण थापाले निर्देशन गरेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । चलचित्रको लागि तीन सय वर्ष पुरानो भवन चाहिने भएकोले त्यस्तो भवन अष्ट्रेलियामा मात्रै भएकोले त्यहाँ निर्माण गरिएको शर्माले बताइन् ।

एक करोड ३० लाख रुपैयाँमा चलचित्र निर्माण भएको उल्लेख गर्दै शर्माले चलचित्र छायांकन गरिएको घरको मात्रै १८ दिनको लागि ३४ हजार डलर तिरेको बताइन् । अभिनेत्री ऋचाले सुनकेसरी लाई स्तरिय हरर फिल्म बनाएको बताइन् । उनी भन्छिन, अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् ।

हरेक कुरा नेचुरल हुनु पर्छ । यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन । उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ । चलचित्रमा ऋचा शर्माको साथै भीम न्यौपाने, रविन्द्र झा, सुनील पराजुली, तमन्ना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Loading...