भरतपुर महानगरपालिकामा स्काई रेल संचालनका लागी पहल सुरु

चितवन, भरतपुर महानगरपालिकामा स्काई रेल संचालनका लागी पहल सुरु गरिएको छ । भरतपुर महानगरमा स्काई रेल संचालन गर्न बिहिबार चीनको चाइना न्यू इनर्जी स्काई रेल ग्रुपसंग छलफल गरिएको छ ।

भौतिक योजना मन्त्री रघुबीर माहासेठ,नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेब गौतम,चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य केशबलाल श्रेष्ठ लगाएतको टोलीले सो कम्पनीसंग छलफल गरेको हो ।

छलफलबाट चिनिया कम्पनी भरतपुरमा स्काई रेल संचालन गर्न सकरात्मक भएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए । एकसाता भित्रै सो कम्पनीले भरतपुरमा स्काई रेल संचालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उनले बताए ।

भरतपुर महानगरपालिका भित्र सोलारबाट चल्ने स्काई रेल संचालनका लागी तिब्रताका साथ काम गरिने पोखरेलले बताए । भरतपुर महानगर भित्रको रिङरोडमा स्काई रेल सञ्चालन गर्न सकिने उनको भनाई छ । कुनकुन ठाउमा मोनो रेलले सुविधा दिन सक्छ, कति खर्च लाग्छ ती सबैको अध्ययन गरेपछि थाहा हुनेछ । सांसद पोखरेलले भने, यसले प्रदूषण पनि कम हुनेछ भने साना सवारी साधन स्वतः विस्थापित हुनेछन् ।

ट्राफिक समस्या समाधानका लागी पनि स्काई रेल निकै उपयोगी हुने पोखरेलले बताए । चिनिया कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्छ । स्काई रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् ।

Loading...