कालिकाको वडा कार्यालयमा सरसफाई तथा तालिम सम्पन्न

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. १ को आयोजनामा पूर्ण सरसफाई, वातावरण मैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

लेट्स डु इट नेपाल नामक संस्थाको समन्वयमा भएको कार्यक्रममा कालिका वडा नं. १ का १३ वटा टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी ६५ जनाको सहभागीता रहेको थियो । सो तालिममा फोहोर व्यवस्थापन, घर टोल र नगरको सरसफाई, करेसाबारीको व्यवस्थापन, स्वच्छ हरियाली नगर बनाउने सन्दर्भमा प्रशिक्षण दिइएको थियो ।

सो समापन कार्यक्रमको अवसरमा कालिका वडा नं. ४ र ५ को संयुक्त वडा कार्यालय परिसरमा सम्पूर्ण सहभागीहरुले सरसफाई गरेका थिए भने लेट्स डु इट नेपालको तर्फबाट सम्पूर्ण अतिथिहरुलाई वातावरणमैत्री कपडाको झोला प्रदान गरिएको थियो । प्रशिक्षणमा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका इञ्जिनियर भरत पोख्रेल, सरसफाई वातावरण अभियन्ता बिरेन्द्र पौडेल, नारायण दवाडी, यमनाथ आचार्यले सहजीकरण गरेका थिए ।

सो समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, कालिका वडा नं. १ का वडा सदस्यहरु अनिता थिङ, कुम्वु कुमारी सुनुवार, शान्ति परियार, कार्यक्रम संयोजक सुरेश दवाडी, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष राजन घिमिरे, कार्यक्रमका प्रतिवेदक विष्णु चापागाई लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

तालिम समापन कार्यक्रम कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

Loading...