सामाजिक मेलेमिलापबाट मुद्धा मिलाउन सुझाब

चितवन । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधिस दिपकराज जोशीले व्यक्ति व्यक्तिबिचको मुद्धाहरु मेलमिलापको माध्यमबाट मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।

गम्भिर प्रकृतिको र फौजदारी मुद्धाहरुमा अदालतको आदेश अपेक्षित हुने तर व्यक्ति व्यक्तिबिचको मुद्धाहरु मेलमिलापबाट मिलाउदा दुवै पक्षले जितेको महसुस हुने उहँले बताउनुभयो । सर्वोच्च अदालतले शुक्रबार चितवनमा आयोजना गरेको मेलमिलापको उपयोगिता शान्ति र सौहार्दायता बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रममा बोल्दै कायम मुकायम प्रधानन्यायधिस जोशीले मेलमिलाप सम्बन्धि ऐन नै आएकाले मेलमिलापले कानुनी मान्यता पाएको उहाँले बताउनुभयो ।

नेपालमा मेलमिलापको पद्धति विभिन्न प्रकारबाट अवलम्बन हुदै आएको बताउदै उहँले परम्परागत पद्धति र विभिन्न समुदाय, जाति र समाजमा रहेका केही प्रथामा विद्यमान विशेष अभ्यासले कानूनी मान्यता प्राप्त नगरेको भएपनि अनौपचारिक रुपमा विवाद समाधान गरिआएको बताउनुभयो ।

सर्वोच्च अदालत मेलमिलाप समितिका अध्यक्षसमेत रहनुभएका जोशीले मेलमिलापलाई अदालतले प्रोत्साहन गर्ने र सकेसम्म मेलमिलापबाट नै विवाद समाधान गर्नुपर्ने विषयलाई कालान्तरमा अवलम्बन गरिँदै आएको बताउनुभयो । उहाले मेलमिलापसम्बन्धी ऐन, २०६८ जारी भई २०७१ सालबाट लागू भएपछि मेलमिलापको सारभूत कानूनी हैसियत र मान्यताले अर्को उचाइ लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो अदालतहरुमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दालाई मेलमिलापकै माध्यमबाट समाधान गर्न विवादका पक्षहरुलाई अदालतबाट मेलमिलापका लागि प्रेषित गर्ने प्रचलनको बढ्दो प्रयोग भएको देखिन्छ । गम्भीर प्रकृतिका फौजदारी मुद्दा, सार्वजनिक सरोकार र राज्यसग सम्बन्धित संविधान र कानूनको व्याख्यासम्बन्धी विवादमा अदालतको निर्णय अपेक्षित भए तापनि देवानी प्रकृतिका व्यक्ति–व्यक्तिबीच हुने विवाद र तिनका पक्षहरुले आफ्नो विषयमा सहमति र सम्मतिमा गरेको निर्णय जत्तिको व्यावहारिक र परिपक्व अरु हुन नसक्ने उहँले बताउनुभयो ।

न्यायाधीश, कानून व्यवसायी, न्यायकर्मी र पक्षहरु सबैले अभ्यास गर्दै आजसम्म आउदा मेलमिलापको प्रभावकारिता पनि वृद्धि भएको बताउदै उहँले पक्षहरुबीच पनि यो पद्धति लोकप्रिय देखिएको बताउनुभयो । कार्य्विधिको सरलता, अनौपचारिक छलफल र पर्याप्त समय र संवादको अवसरका कारण पनि मेलमिलापप्रतिको चाख बढेको उहँले बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत पाटनअन्तर्गत हेटौडा इजलासका मुख्य न्यायाधीश सुस्मलता माथेमा, जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्मा, जिल्ला अदालत चितवन बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले मेलमिलापको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा मुद्दाका पक्ष विपक्ष र मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई र उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठले मेलमिलापको उपयोगिताको बारेमा प्रकाश पार्दै सहभागीको जिज्ञासा समाधान गर्ने कार्यक्रम रहेको छ ।

Loading...