चैते धान उत्पादनमा वृद्धि हुने

नवलपुर । यो वर्ष पूर्वि नवलपरासीका विभिन्न स्थानमा लगाइएका चैते धानको उत्पादन बढ्ने देखिएको छ । नवलपरासीको विभिन्न स्थानमा लगाइएका चैते धान राम्रो फल्न सुरु भए संगै यो वर्ष किसानले लगाएको चैते धान उत्पादनमा बृद्धि हुने कृषकहरुले बताएका छन ।

जिल्ला कृषि विकास कार्यालय नवलपरासीका सुचना अधिकारी श्रीकान्त घिमिरेका अनुसार यसपाली नवलपरासीमा १७ सय ७५ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ । यसवर्ष चैते धान केहि छिटफुट स्थानमा बाहेक पकेट क्षेत्रमा रोपाई गरिएको हो । वर्षेधान भन्दा चैतेधानको उत्पादकत्व जिल्लामा बढि हुने भए पनि यो वर्ष भने उत्पादन बढ्ने घिमिरेको भनाई छ ।

गत वर्ष पनि १७ सय ७० हेक्टर क्षेत्रफमा चैतेधान रोपिएको र ७ हजार २ सय ९९ मेट्रिकटन धान उत्पादन भएको अधिकृत घिमिरेले जानकारी दिए । यस वर्ष रोपाईको समयमा पानी परेकाले पनि धानको फसल राम्रो रहेकोे घिमिरेले बताउनुभयो । नवलपरासीको साविकको कुमारवर्ती गाविस चैतेधानको पकेट क्षेत्र मानिन्छ । यस वाहेक गैडाकोट नगरपालिकाको अमरापुरी , रजहर, देवचुली नगरपालिका , कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा चैते धान रोपिन्छ ।

यी ठाउहरु विषेशगरि सिमसार क्षेत्र , नदि किनार र सिंचाईको सुविधा भएकाले पनि चैते धान राम्रो हुने गरेको छ । जिल्लामा चैतधान दुई , चैतेधान तीन , चैतेधान ४ , सिएच ४५ , हर्दिनाथ जस्ता जातका धान लगाइने गरिएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैह्रेले जानकारी दिनुभयो ।

गैह्रेका अनुसार पछिल्लो वर्षहरुमा चैतेधान गर्ने किसानहरुलाई सहुलियतमा विउ उपलब्ध गराउने , विमा गर्ने ,तालिमहरु दिने , रकम उपलब्ध गराउने जस्ता कामहरु कार्यालयले प्रदान गर्दै आएकाले चैतेधान रोप्ने किसानहरु बढेका छन भने धानको उत्पादनमा पनि बृद्धि हुदै गएको छ ।

Loading...