फोटो पत्रकारिताको माध्यमबाट समृद्ध नेपाल निर्माणमा जुट्न आग्रह

चितवन, फोटो पत्रकारिताको माध्यमबाट समृद्ध नेपाल निर्माणमा जुट्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै सहभागीहरुले देश र जनताको विकास र समृद्धिको चाहनालाई पुरा गर्नको लागि फोटो पत्रकारिता अपरिहार्य भएको बताएका हुन् ।


बिहीबार चितवनको सौराहामा आयोजित भेलाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले देश र जनताको निम्ति फोटो पत्रकारिता गर्नुपर्ने बताएका हुन् । देशको स्वाधिनता र सुरक्षाको निम्ति व्यावसायिक रुपमा फोटो पत्रकारितालाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको थापाको भनाइ छ । ‘राष्ट्रिय स्वाधिनता र सुरक्षाको निम्ति फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ’ थापाले भने, –‘देशको लागि पत्रकारिता गर्न जरुरी छ भन्ने संकल्प गर्दै लोकतन्त्रको सुदृढिकरणको लागि फोटो पत्रकारिता गर्नुपर्ने हुन्छ ।

मुलुकको समृद्धिको लागि सरकार र गृहमन्त्रालय सम्पूर्ण पत्रकार जगतसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै थापाले भ्रष्टहरुको स्ट्रीङ अप्रेशनको लागि फोटो पत्रकारिता अपरिहार्य रहेको बताए । विकास विरोधी दलाल, सिन्डीकेटका पक्षधर, भ्रष्टाचारीहरुलाई पत्रकारले खलनायकको रुपमा उभ्याउनुपर्ने थापाले बताए । मलुकको स्थायीत्व र शान्तिलाई उजागर गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने थापाको भनाइ छ ।

उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् एवम् चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले विगतको दिनमा केही सम्भ्रान्त वर्गको हितमा पत्रकारिता प्रयोग भएको भएपनि अबको दिनमा आवाज विहिनहरुको आवाजको रुपमा पत्रकारिता उभिन सक्नुपर्ने बताए । पत्रकारिता कुनै व्यक्ति तथा सरकारको पक्षमा नभएर समृद्ध मुलुक निर्माणको लागि देश र जनताप्रति जवाफदेही हुनुपर्ने पाण्डेले बताए । मुलुकको समृद्धिको लागि फोटो पत्रकार तथा सबै क्षेत्रको सहयोग हुन आवश्यक रहेको पाण्डेको भनाइ थियो ।

हजारौँ शब्दहरुले वर्णन गर्न नसकेका कुराहरुलाई एउटा फोटोले वर्णन गर्ने हुनाले फोटो पत्रकारिता महत्वपूर्ण हुने नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले बताए । मुलुकको हरेक परिवर्तनमा फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकोले आगामी दिनमा समेत मुलुकलाई पर्यटनको माध्यमबाट चिनाउनको लागि फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने थापाको भनाइ थियो । विभिन्न उच्च पदस्थ व्यक्तिहरु सरिक भएको कार्यक्रमको फोटो खिच्न पत्रकारहरुलाई असहज हुँदै आएको भन्दै सहज बनाउनका लागि थापाले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नेपाल फोटो पत्रकार महासंघको आयोजनामा भएको जिल्ला अध्यक्षहरुको केन्द्रीय भेलामा देशका विभिन्न ३२ शाखाबाट ५० जना सहभागी रहेका छन् । फोटो पत्रकारिताको माध्यमबाट देशको विभिन्न पर्यटकीय क्षेत्रहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन सकिने गरि सौराहा घोषणा पत्र जारी गर्दै भेला सकिनेछ ।

Loading...