देवघाटमा त्रिकोणात्मक झोलुंगेपुलको डिपीआर यस्तो

तनहुँ । धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक झोलुंगे पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको ड्राफ्ट तयार भएको छ । पुलको लागि बिस्तृत परियोजना प्रतिवेदनको ड्राफ्ट तयार भएको सस्पेन्सन ब्रीज डिभिजनका योजना प्रमुख गुरु प्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब ४० करोडको लागतमा तनहु , चितवन र नवलपरासी जिल्ला जोड्ने आकर्षक झोलुंगे पुल निर्माण गर्न लागिएको हो । विस्तृत परियोजना प्रतिवेदनको ड्राफ्ट तयार गरेर कन्सल्टेन्टले बुझाएको छ,। शर्माले भने, एक साताभित्र छलफल गरेर प्रतिवेदन तयार गरिनेछ ।

उनले विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि स्थानिय स्तरमा पनि सबै सरोकारवाला निकायसंग छलफल गरिने बताए । सम्भब भए असारसम्म र नभए साउनमा टेण्डर आब्हान गरेर काम सुरु गरिने उनको भनाई छ । विस्तृत परियोजना प्रतिवेदनमा झोलुंगे पुलको डिजाइन, माटो परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन लगायतका बिषय समाबेश भएको परामर्शदाता कम्पनी आरआईबिसी प्रालिका प्रमुख जगत रानाभाटले जानकारी दिए ।

उनले करिब ५ महिनाको समय लगाएर विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बताए । त्रिकोणात्मक पुल १.६ मिटरको बन्ने छ । सो पुलमा हिडडुल गर्न मात्रै पाइने छ । पुलको वीचमा राखिने पिल्लरले तीन वटै जिल्लालाई जोड्ने छ । पुलको वीच भागमा भ्यू टावरसमेत राखिने छ । भ्यू टावरबाट एकैपट करिब १ सय जनाले देबघाटको दृश्य अबलाकन गर्ने मिल्ने छ ।

झोलुंगे पुलमै र्भयाङ बनाएर भ्यूटावर जाने गरी संरचना तयार गरिनेछ । देबघाटमा निर्माण हुन लागेको त्रिकोणात्मक झोलुंगे पुल नेपालकै नमुना पुल बन्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो ।

भ्यूटावरबाट समग्र देवघाट क्षेत्रको दृश्यावलोकन गर्न सकिने सकिने उनले बताए । सौराहा आउने पर्यटकलाई देवघाट आउने वातावरण बनाउनका लागि पुल निर्माण गर्न लागिएको पौडेलले बताए । देवघाटमा २०३७ सालमा बनेको झोलुङंगे पुल जीर्ण बन्दा दुर्घटनाको खतरा बढेको छ । देवघाटमा लाग्ने ठूला मेलाहरुको सन्दर्भ पारेर पटक–पटक पुल मर्मत गरिदै आएको छ ।

Loading...