ठिमुरा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन । चितवनको नारायणगढमा रहेका दुई वटा लायन्स क्लबहरुले भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

लायन्स क्लब अफ नारायणगढ बलकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले शुक्रबार विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । लायन्स क्लब अफ नारायण बालकुमारीका अध्यक्ष बालगोपाल चुकेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी प्रदान गरिएको हो ।

विभिन्न सामाजिक काम गर्ने क्रममा आफूहरुले विद्यालयका अति विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक एवम्् स्टेशनरी प्रदान गरेको चुकेले बताउनुभयो । आगामी दिनहरुमा समेत क्लबले विभिन्न विद्यार्थीहरुको लागि शैक्षिक सामग्री तथा अन्य सामग्री सहयोग गर्दै जाने चुकेको भनाइ थियो । विद्यालय पोशाक एवम् स्टेशनरी वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादत्त भट्टराईले आधारभूत विद्यालयमा ठिमुरामा आर्थिक रुपमा विपन्न चेपाङ, दलित, भुजेल समुदायका विद्यार्थीहरु अध्ययन गर्ने गरेका बताउनुभयो ।

विद्यालयमा अध्ययनरत ३२ जना छात्र र ३० जना छात्रालाई विद्यालय पोशाक तथा कापी कलम प्रदान गरिएको थियो । उक्त कार्यक्रममा समाजसेवी तथा पुस्तक व्यवसायी सूर्य बहादुर मास्केले समेत सबै विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गर्नुभएको थियो । शैक्षिक पोशाक एवम् स्टेशनरी वितरण कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रजनी मास्केको अध्यक्षतामा भएको थियो ।

Loading...