लागु औषध मुक्त महानगर बनाउने अभियान सुरु

चितवन । भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य सहित सुरुआत गरिएको भरतपुर महानगर लागु औषध रोकथाम अभियानको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले अभियानको उद्घाटन गर्नुभएको हो ।

अभियानको उद्घाटन गर्दै डल्लाकोटीले युवा वर्गहरु लागु औषधको दूव्र्यसनीमा फसेर आफ्नो तथा परिवारको समेत सपना बर्बाद पारिरहेको बताउनुभयो । भोलिका देशका कर्णधारहरु, नीति निर्माताहरु, उच्च तहका व्यक्तिहरु, महान व्यक्तिहरु अहिले दूव्र्यसनीमा फस्दा राष्ट्रको समृद्धिको सपना समेत पूरा हुन नसक्ने डल्लाकोटीको भनाइ थियो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा लागु औषध दूव्र्यसनीको संख्या धेरै भएको बताउनुभयो । जिल्लामा भएको विकासको क्रमसँगै यस क्षेत्रलाई लागु औषधको अखडा बनाउनेहरुको संख्या समेत बढ्दै गएको बस्नेतले बताउनुभयो । चितवनलाई शान्त र सुरक्षित बनाउनको लागि आफूहरुले लागु औषध कारोबारेलाई कारबाही गर्ने गरि सुरक्षा योजना निर्माण गरिरहेको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले बताउनुभयो ।

राठौरका अनुसार लागु औषध प्रयोगकर्ताले ट्याब्लेटबाट सुरु गरेर, सुघ्ने औषधि हुँदै सुईबाट लागु नाशालु पदार्थ सेवन गर्ने गरेका हुन्छन् । सन्देश फाउन्डेशन नेपालद्वारा सञ्चालित सुनौलो बिहानी लागु औषध उपचार तथा पुनस्र्थापना केन्द्रको आयोजनामा भरतपुरका २९ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ ।

शुक्रबार अभियान उद्घाटनका क्रममा नेकपाका जिल्ला नेता खोमकान्त रेग्मी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला जनस्वास्थ्य कार्यालयका अनुप अधिकारी, रिकभरी अफ नेपाल महासंघ चितवनका अध्यक्ष ज्ञानुजंग लामालगायतले लागु औषध दूव्र्यसनीको अन्त्यको लागि घरघरबाट अभियान थाल्नुपर्ने बताउनुभएको थियो । सन्देश फाउन्डेनश नेपालकी संरक्षक ज्ञानु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगर लागु औषध रोकथाम अभियानका संयोजक दिवाकर राज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Loading...