प्रदेश ५ को नीति तथा कार्यक्रमः समृद्ध प्रदेश सुखी जनता पाँच वर्षभित्र सबैलार्इ रोजगार

रूपन्देही । प्रदेश ५ सरकारले पाँच बर्षभित्र विदेश जान नपर्ने गरि रोजगारी सृजना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममार्फत प्रदेश सरकार प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

निर्वाचनपछि आएको सरकारको नीति तथा कार्यक्रम मार्फत प्रदेशलाई नेपालकै नमूनाको रुपमा विकास गर्ने सपना देखाइएको छ । ‘समृद्ध प्रदेश खुसी जनता’ भन्ने नारालाई पूरा गर्न उच्चदरको आर्थिक बृद्धि हासिल गर्ने, युवा श्रमशक्तिलाई नेपालमै स्वरोजगारी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि पर्यटन र औद्योगिक विकास मार्फत प्रदेशलाई सबल बनाउने गरि प्रदेश सरकारले कार्यक्रम गर्ने छ । नेपालगञ्जलाई औद्योगिक राजधानीको रुपमा विकास गर्ने, भैरहवादेखि परासीसम्म, कपिलवस्तुको चन्द्रौटा कृष्णनगरलाई औद्योगिक करिडोर र दाङ उपत्यकामा पनि औद्योगिक क्षेत्र निर्माण गर्ने उल्लेख छ ।

प्रदेश सरकारले आयात प्रतिस्थापन, निर्यात प्रबद्र्धन गर्ने गखालका उद्योगलाई प्रोत्साहन गर्ने बताइएको छ । प्रदेशमा खनिज पदार्थ तथा बहुमुल्य धातुको अन्वेषण, अध्ययन तथा सर्वेक्षण गरिने पनि उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित उद्योगहरू खोल्न प्रोत्साहन गर्ने जनाइएको छ । उद्योग क्षेत्रको प्रोत्साहन तथा प्रबर्दनको लागि प्रदेशमा रहेका औद्योगिक क्षेत्रको विकास गरी थप उद्योग सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

‘सीयुक्त महिला आत्मनिर्भरमा पहिला’ भन्ने नारालाई मूर्तरुप दिन हरेक वडामा महिलाहरूका लागि सीप विकास तथा उद्यम प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । ‘एक गाँउ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने उल्लेख छ । ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने सरकारको योजना रहेको छ । युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउ खेति आदिमा मापदण्ड बनाई अनुदान दिने भनिएको छ । ‘एक गाउँ एक पोखरी’ निर्माणमा स्थानीय सरकारसँग सहकार्य कार्यक्रममा भनिएको छ ।

प्रदेशको विकासका लागी पर्यटनलाई पनि बिशेष रुपमा जोड दिइएको छ । प्रदेश भित्रको १२ वटै जिल्लाको भौगोलिक तथा साँस्कृतिक पहिचान झल्किने गर प्रदेश पार्क निर्माण गरिने छ । बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी, कपिलबस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई बुद्ध सर्किटको रुपमा विकास गर्नका लागि संघीय सरकार, स्थानीय सरकार तथा निजी क्षेत्रसंग समन्वय गरी पर्यटकको बसाई अवधि लम्वाउन लागि आकर्षक कार्यक्रमहरू संचालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । जगदिशपुर तालक्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापना गरिने भनिएको छ ।

नेपालगंज र कोहलपुर, घोराही र तुलसीपुर, बुटवल र भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गरी समग्र प्रदेशको आर्थिक सामाजिक विकासको अगुवाइ गर्ने गरी विकास प्राधिकरण स्थापना गरिने समेत प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Loading...