उद्यमी महिलालाई विद्युतिय सिलाई मेसिन प्रदान

चितवन । नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले शनिबार चितवनका महिला उद्यमीहरुलाई २० वटा विद्युतीय सिलाई मेशिन हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विभिन्न ७ वटा समूहमा महिलाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरेका हुन् ।

केन्द्रले नारायणगढको सु–सज्जित कलेक्सन प्रा.लि.मार्फत चितवनका १५० जना महिलाहरुलाई तालिम दिएको छ । गत चैत ९ गतेबाट सुरु भएको तालिम दुई चरणमा आयोजना गरिएको प्रालिकी सञ्चालक सुमित्रा पौडेलले जानकारी दिइन् । पहिलो चरणको तालिममा १०० जनाले तालिम लिएका थिए भने दोस्रो चरणको तालिममा ५० जना रहेको उनले बताइन् ।

उनका अनुसार दास्रो चरणको तालिम पनि असार दोस्रो हप्ता सकिने छ । नेपालमा बन्ने तयारी पोषाकको उत्पादन बढाउनको लागि सरकारले नै तालिम दिएर उद्यमी बन्न प्रेरित गरेको केन्द्रका कार्यकारी निर्देशक राणाले बताए । नेपाल सरकारले दिनानुदिन व्यापार घाटा सहन बाध्य भइरहेको अवस्थामा तयारी पोषाकको उत्पादनमा वृद्धि गराई विदेश निर्यात गर्न सके व्यापार घाटा कम हुने उनको भनाइ छ ।

चितवनमा वितरण गरेको मेशिनबाट मात्रै ७५ जना महिलाहरुले प्रत्यक्ष रोजगार पाउन सकिने केन्द्रले जनाएको छ । नेपालमा गलैँचापछिको सबैभन्दा ठूलो उद्योग नै तयारी पोषाकको उद्योग भएकोको आ–आफ्नो ठाउँमा हुने उत्पादनले स्थानीय बजारलाई ढाक्न सके विदेशी सामान आयातमा कमी आउने नेपाल तयारी पोषाक उद्योग संघका द्वितीय उपाध्यक्ष भूपेन्द्रकुमार बस्नेतको भनाइ छ ।

नेपाली रकमलाई विदेश नपठाउनको लागि स्वदेशमै उत्पादन बढाउनुपर्ने उनले बताए । स्वदेशमै तालिम दिलाएर दक्ष जनशक्ति उत्पादन गर्न सके विदेशबाट सामान ल्याउनुपर्ने समस्या विस्तारै कम हुँदै जाने उनले बताए ।

Loading...