सम्झौताको म्याद सकियो ३० प्रतिशत मात्र काम

चितवन । भरतपुर बाइपास सडकको स्तरोन्नति म्याद सकिसक्दा पनि जम्मा ३० प्रतिशत मात्रै भएको छ ।

ठेक्का सम्झौता अनुसार गत चैत १८ गते नै काम सक्ने गरी गौरी पार्वती निर्माण सेवा प्रालि काठमाडौले जिम्मा लिएको थियो । २०७३ पुस १९ गते ठेक्का सम्झौता गरेको कम्पनीले अहिलेसम्म ढल निर्माण कार्यसमेत सकाएको छैन । भरतपुरको आँपटारी चोकदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ हजार ४०० मिटर सडकलाई दायाँबायाँ ढलसहित फराकिलो बनाउनको लागि काम सुरु गरेको हो ।

कम्पनीले सडक विस्तार तथा सुधार कार्य, कालोपत्रे र टेवा पर्खाल लगाउने गरी १२ करोड ८१ लाख ८२ हजार ९४७ रुपैयामा ठेक्का लिएको थियो । तर, कामको प्रतिफल भने शून्यजस्तै छ । गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने बताएका थिए ।

तर, आफ्नै गृहजिल्लामा भएको लापारबाहीप्रति भने सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन । अहिलेसम्म काम सकेर सरकारलाई बुझाइसक्नुपर्ने सडकको जिम्मा लिएको ठेकेदार कम्पनी भने म्याद थप गर्ने प्रकृयामा लागी परेका छन् । सडक डिभिजन कार्यालय चितवनले बताए अनुसार पहिलो चरणमा छ महिना म्याद थप गर्ने प्रकृया चलिरहेको छ ।

काम सुरु गरेदेखि हालसम्म काम रोकिएको भने छैन । तर, कामले गति लिन पनि सकेको छैन । सडक डिभिजन कार्यालयले भने विद्युत, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनी तथा वन कार्यालय लगायतका संघ संस्थाका कारण समयमै काम गर्न नसकिएको बताइरहेको छ । वन कार्यालयले रुख हटाउने अनुमति नदिदा सडक विस्तारमा समस्या भएको कार्यालयका इञ्जिनियर मुकुन्दप्रसाद लामिछानेले बताए ।

विद्युतको पोल हटाउनको लागि भने टेण्डर आह्वान भइसकेकोले समय नलाग्ने उनले दावी गरे । उक्त सडक बीच भागबाट १५÷१५ मिटर फराकिलो बनाउन लागेको हो ।

Loading...