विपत् व्यवस्थापन बारे ६ दिने तालिम

चितवन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले विपदको बेलामा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीका विषयमा सरोकारवाला निकायहरुलाई तालिम प्रदान गरेको छ ।

जिल्ला विपद् प्रतिकार्य समूहका व्यक्तिहरुलाई तालिम प्रदान गरिएको हो । बुधबारदेखि सुरु भएको ६ दिने तालिमका क्रममा विपदको बेलामा कसरी उद्धार गर्ने, पीडितहरुलाई खानपिनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम दिइने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिनुभयो । विपद्का सम्पूर्ण चरणहरुको बारेमा सैद्धान्तिक तथा व्यवहारिक दुवै तालिम प्रदान गरिने न्यौपानेको भनाइ छ ।

तालिममा चितवनका सात वटै स्थानीय तहबाट एक÷एक जना प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, रेडक्रस सोसाइटीका उपशाखाका प्रतिनिधि गरि जम्मा २८ जना सहभागी रहेका छन् । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटीका ट्रेनर महेश गौतम, जिल्ला शाखा चितवनका कार्यालय प्रमुख जगन्नाथ न्यौपाने, समुदायमा आधारित विपद् उत्थानशील समूहका कार्यक्रम अधिकृत उत्तमलाल शर्मालगायतले तालिम दिनेछन् । विपद् तालिमको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गर्नुभएको थियो ।

उद्घाटनका क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री हरिप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला विपदव् प्रतिकार्य तालिमको समापनको दिन आगामी असार ४ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले वडा प्रहरी कार्यालय चितवन र सशस्त्र प्रहरी बलको पुलचोकमा रहेको पोष्टलाई विपद्को बेलामा आवश्यक पर्ने उद्धार सामग्री हस्तान्तरण गरिने कार्यालय प्रमुख जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो ।

Loading...