पहिलो खेलमा अर्जेन्टिनालार्इ रोकेको अाइसल्याण्ड दोस्रो खेलमा नाइजेरियासँग पराजित

काठमाडौँ । अाफ्नो पहिलो खेलमा अर्जेन्टिनालार्इ १-१ मा रोक्दै सफल सुरूवात गरेको अाइसल्याण्ड रसिया विश्वकपको समूह चरणको अाफ्नो दोस्रो खेलमा नाइजेरियासँग स्तब्द भएको छ।

अहेमेद मुसाले दोस्रो हाफमा दुई गोल गरेपछि नाइजेरियाले रसिया विश्वकपमा आइसल्याण्डलाई २-० ले पराजित गर्दै पहिलो जित निकाल्यो।

पहिलो खेलमा क्रोएसियासँग पराजित नाइजेरियालाई जित दिलाउन मुसाले ४९औँ र ७५औँ मिनेटमा गोल गरे।

समूह डी मा जितपछि नाइजेरियाले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ। यसले एक खेल बराबरी र एक खेलमा हारको नतिजा निकालेको अर्जेन्टिनाको पनि अन्तिम १६ पुग्ने सम्भावना कायम छ।

उता पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा भने गोल गर्न असफल रह्यो। २-० ले पछि परेको अवस्थामा भिआरको सहयोगमा पेनाल्टी हान्ने अवसर पाएपनी गिल्फी सिगुरसनले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार बारमाथिबाट गएको थियो।

समूहमा सबै टिमले दुई खेल खेलेपछि ६ अंक जोडेको क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ। ३ अंक जोडेको नाइजेरिया दोस्रो तथा समान १ अंक रहेका अर्जेन्टिना र आइसल्याण्ड क्रमश: तेस्रो र चौथोमा छ। यी तीन वटै टिमको अन्तिम १६ पुग्ने सम्भावना कायमै छ। र त्यसका लागि अन्तिम खेलमा आफूअनुकुल नतिजा ल्याउनुपर्नेछ।

Loading...