नारायणगढमा चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन

चितवन । शनिबार नारायणगढको गणेश चित्र मन्दिरमा गुरुङ संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र ‘कर्म क्याँ’ अर्थात् ‘कर्मको बाटो’ प्रदर्शन गरिएको छ । तमू प्ये ल्हू संघ जिल्ला कार्य समिति चितवनले संस्थाको भवन निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गरेको हो।

संस्थाको आफ्नै भवन नहुँदा हरेक कार्यक्रम तथा बैठक बस्नसमेत समस्या हुने भएकोले विभिन्न माध्यमबाट आर्थिक संकलन गरेर आफ्नै भवन निर्माण अभियानमा लागेको तमू प्ये ल्हू संघ चितवनका वरिष्ठ उपाध्यक्ष तुलाराम तमूले जानकारी दिए । लोकबहादुर तमू र धर्ममाया तमुस्योको संयुक्त लगानीमा निर्माण भएको चलचित्र ‘कर्म क्याँ’ले २०७१ सालमा काठमाडौँमा आयोजित राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ।

गुरुङ समाजमा हुने माया प्रेमको भावलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ। चलचित्रमा आजभन्दा २५ वर्ष पहिलेको परिवेशलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रकी निर्देशक एवम् कलाकार जसमाया गुरुङ ‘जस्सु’ले जानकारी दिइन्। गुरुङ समुदायको मौलिक संस्कृति र भाषा संरक्षणको लागि चलचित्र निर्माण गरिएको उनले बताइन् । आफूले निर्देशन गरेको पहिलो चलचित्र भएकोले दर्शकसामु उनले सुझावको समेत अपेक्षा गरिन्।

चलचित्रमार्फत सामाजिक रुपान्तरण गर्न सक्ने हुँदा दर्शकको चाहनाअनुसारको स्वाद दिने प्रयास गरिएको उनले बताइन् । उनको दोस्रो चलचित्र ‘म्ले क्यु’ अर्थात् ‘बिर्साउने पानी’ निर्माणकै क्रममा छ । चलचित्र ‘कर्म क्याँ’मा रिया गुरुङ, सुजित गुरुङ, विष्णु गुरुङ, शंकर गुरुङ ‘बतासे’, रसिला गुरुङलगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

Loading...