भरतपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, रिङरोड र लिङक रोड यही महिना भित्रै शिलन्यास गरिने

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५ र ७६ का लागि महत्वाकांक्षी योजनाहरु नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । दोस्रो नगरसभा मार्फत आईतबार केही पुराना र केही नयाँ योजनाहरु समेट्दै नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो।

महानगरले समृद्ध नेपाल, सुखी नेपाली भन्ने संघीय सरकारको नारालाई आत्मसाथ गर्दै हाम्रो प्रतिवद्धता हाम्रो रहर, सुन्दर र समृद्ध भरतपुर महानगर नारा तय गरेको छ । भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा लिईएको रिङरोड र लिङक रोड यही महिना भित्रै शिलन्यास गरी निर्माण प्रक्रिया अघि बढाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक टाफ्रिक लाईट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमान स्थललाई नियमित संचालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ । महानगरले पूर्वाधार विकास तर्फ सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई जोड दिदै कल्भर्ट निर्माण, चौडा सडक तथा कालो पत्रे निर्माण, पार्किङ व्यवस्थापनलाई जोड दिएको छ।

यस्तै महानगरमा सभाहल निर्माण, लायन्सचोकस्थित तरकारी मण्डी रहेको स्थानमा अत्याधुनिक व्यापारिक भवन, साईकल लेन, नारायणी नदी तटबन्धन र समुन्द्री तट मोडलसहितको मनोरञ्जन पार्क निर्माण जस्ता महत्वकांक्षी योजना समेत ल्याएको छ । भू–उपयोग नीति तयार गरी जमिनको व्यवस्थापन, अटो ल्याण्ड निर्माण, विकास निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण सामाग्री परीक्षण प्रयोगशाला स्थापना र विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै आर्थिक विकास तर्फ महानगरलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, सिचाई, कृषि सडक, ग्रामीण विद्युतीकरण, हाट बजार, थोक बजार, कृषि उपज संकलन केन्द्र र प्रशोधन केन्द्रको पूर्वाधार निर्माणमा जोड दिईएको छ । उत्पादनको आधारमा अनुदानको व्यवस्था, विज भण्डारण स्थापना, प्राङगारिक खेतीलाई प्रोत्साहन र घर भित्रको फोहोर घर भित्रै व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको छ।

यसैगरी उद्योग तथा पर्यटन तर्फ घरेलु उद्योगलाई प्राथमिकता दिदै उद्योग मैत्री सामाज र समाजमैत्री उद्योगको नीति तय गरिएको छ । त्यसैगरी सामाजिक विकास तर्फ शिक्षा र स्वास्थ्य र खेलकुदमा विशेष जोड दिईएको छ जस अन्र्तगत इन्जिनियरिङ कलेज स्थापना, मेडिकल सिटीका लागि आवश्यक पूर्वाधारको विकास, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने उल्लेख गरिएको छ।

भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई दिदै आईएको निःशुल्क बहिरंग सेवालाई निरन्तरता, युवा तथा महिला लक्षित कार्यक्रम र खेलकुदको विकासका लागि खेल मैदान निर्माणमा जोड दिईएको छ । शहरलाई सुन्दर बनाउन मूख्य सडकमा तीन पाङग्रे सवारी संचालनमा रोक र अत्याधुनिक ल्याण्डफिल्ड साईट निर्माणलाई प्राथमिकता दिईएको छ।

नीति तथा कार्यक्रममा मेयरसंग नगरवासी कार्यक्रम, सबै कार्यालयहरु सूचना मैत्री, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने अभियान र आर्थिक कार्यप्रणाली चुस्त र दुरुस्त बनाई वित्तिय सुशासन कायम गर्ने उल्लेख गरिएको छ ।

Loading...